विदेशी मुद्रा सञ्चिती १८ खर्ब १६ अर्ब पुग्यो, कति महिनाकाे आयात धान्छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

विदेशी मुद्रा सञ्चिती १८ खर्ब १६ अर्ब पुग्यो, कति महिनाकाे आयात धान्छ ?



काठमाडौं । विदेशी मुद्रा सञ्चिती १८ खर्ब १६ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार छ महिनामा १८ प्रतिशत बढेको हो । गत असारसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिती थियो ।

राष्ट्र बैंकका अनुसा अमेरिकी डलरमा असारसम्म ११ अर्ब ७१ करोड रहेको थियो भने पुसमा १६.९ प्रतिशतले वृद्धि भई १३ अर्ब ६९ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति छ महिनामा १८.९ प्रतिशतले वृद्धि भई १६ खर्ब २३ करोड रुपैयाँ पुगेको छ । गत असारमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ थियो ।

बैंक तथा वित्तीय संस्था ११.८ प्रतिशतले वृद्घि भई दुई खर्ब १६ अर्ब ३५ करोड रुपैयाँ कायम भएको छ । गत असारसम्म एक खर्ब ९३ अर्ब ५९ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८०/८१ को छ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.५ महिनाको वस्तु आयात र १२.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३३.८ प्रतिशत, १००.९ प्रतिशत र २७.७ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३ प्रतिशत र २५ प्रतिशत रहेका थिए ।

प्रकाशित : २३ माघ २०८०, मंगलवार १२:५१