मङ्सिर २७ गतेदेखि काठमाडौं महानगरमा सुर्तीजन्य पदार्थ बिक्रीमा पूर्ण निषेध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मङ्सिर २७ गतेदेखि काठमाडौं महानगरमा सुर्तीजन्य पदार्थ बिक्रीमा पूर्ण निषेध



काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ। मंसिर २७ गतेदेखि आफ्नो भौगोलिक क्षेत्रभित्र प्लाष्टिकमा प्याक गरिएका सूर्तिजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गरिने महानगरले जनाएको छ।

महानगर अन्तर्गतको स्वास्थ्य विभागले १५ दिनको अवधि दिएर आज सूचना जारी गर्दै प्लाष्टिकको बट्टामा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका सुर्तीजन्य पदार्थहरु र सार्वजनिक स्थानमा धुम्रपानमा रोक लगाउने जनाएको हो।

काठमाडौं महानगरपालिकाले २०८० सालमा जारी गरेको जनस्वास्थ्य ऐनमा यससम्बन्धी व्यवस्था छ । ऐनको दफा ४२ अनुसार सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन सक्ने, निषेध गर्न सक्ने, सार्वजनिकस्थलको ४ किल्ला तोकेर त्यस वरपर सुर्तीजन्य र जंक फुड बिक्री वितरण गर्न निषेध गर्न सक्ने व्यवस्था छ ।

विसं २०६८ मा जारी भएको ऐनको दफा ४ मा सार्वजनिकस्थल (शिक्षण संस्था, विमानस्थल, बाल कल्याण गृह, क्लब, सार्वजनिक शौचालय, होटल, रेष्टुराँ, छात्रवास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालय लगायतका स्थल) मा सुर्तीजन्य पदार्थको प्रयोगलाई निषेध गरिएको छ ।

सहरको स्वस्थ्यता र वातावरणीय सुधारका लागि धूमपान नियन्त्रण पहिलो सर्त हो । दोस्रो चरणमा हुक्का नियन्त्रणको कार्यक्रम चलाइने कामपाको तयारी छ ।

प्रकाशित : १३ मंसिर २०८०, बुधबार ११:२५