भूकम्प प्रभावितका लागि राहत वितरणसँगै ‘ट्रान्जिसनल होम’ बनाइदिने चौधरी ग्रुपकाे घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

भूकम्प प्रभावितका लागि राहत वितरणसँगै ‘ट्रान्जिसनल होम’ बनाइदिने चौधरी ग्रुपकाे घोषणा



काठमाडौं । चौधरी ग्रुपले भूकम्पबाट प्रभावित ५० परिवारका लागि ट्रान्जिसनल होम निर्माण गरिदिने भएको छ । चौधरी फाउन्डेसनले पहिलो चरणमा ‘ट्रान्जिसनल होम’ निर्माणको काम पश्चिम रूकुमको चौर जहारी नगरपालिकाबाट गर्ने भएको हो ।

मंगलबार चौधरी फाउन्डेसनका प्रतिनिधि र नगरपालिकाका मेयर पुष्प बादीबीच उक्त नगरभित्र भूकम्पले घर भत्किएका ५० परिवारका लागि यथासम्भव छिटो ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने सहमति भएको चौधरी ग्रुपका महाप्रवन्धक मधुसुदन पौड्यालले जानकारी दिए ।

यसअघि फाउन्डेसनले २०७२ सालको भूकम्पमा ३ हजार यस्ता घर बनाएको थियो।तत्कालको राहत व्यवस्थापनसँगसँगै भूकम्पले घरविहीन भएका परिवारका लागि ‘ट्रान्जिसनल होम’को अत्यन्तै खाँचो रहेको ग्रुपले उल्लेख गरेको छ ।

भत्किएका घर पुनर्निमाण गर्न समय लाग्ने र त्रिपालमुनिको बास कष्टकर हुने भएकाले जतिसक्यो चाँडो ‘ट्रान्जिसनल होम’ बनाएर घरविहीन भूकम्प प्रभावितहरूलाई ओतमुनि पुर्‍याउनु आवश्यक रहेको समेत ग्रुपको भनाइ छ ।

यो अवस्थालाई मध्यनजर गर्दै चौधरी फाउन्डेसनले भूकम्प प्रभावितहरूका लागि ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने निर्णय लिएको बताएको छ । स्थानीय प्रशासन/स्थानीय पालिकाहरूसँगको समन्वयमा ‘ट्रान्जिसनल होम’हरू निर्माण गरिने समूहको विज्ञप्तिमा उल्लेख छ ।

यस्ता ‘ट्रान्जिसनल होम’ निर्माणका लागि आवस्यक पर्ने वित्तीय सहयोग चौधरी फाउन्डेसनले गर्नेछ भने स्थानीय निकायले सेल्टर निर्माणका लागि आवस्यक पर्ने जमिन र स्थानीय तहमै उपलब्ध सामान एवम् श्रमको व्यवस्थापन गर्नेछन् ।

यस्तो सहकार्यले छोटो समयमा ‘ट्रान्जिसनल होम’हरू निर्माण गर्न सकिने र प्रभावितहरूले ओत पाउने विश्वास चौधरी फाउण्डेसनको छ ।

प्रकाशित : २१ कार्तिक २०८०, मंगलवार १६:४७