गाँजा खेती सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

गाँजा खेती सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन



काठमाडौं । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गरेका थिए।

आर्थिक वर्ष ०८०/८१ को बजेट वक्तव्यको १०५ नम्बर बुँदामा भनिएको छ– औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिनेछ।’

यो कार्यदललाई दुईवटा विषय म्यान्डेट दिइएको छ। गाँजालाई औषधिका रूपमा कसरी उपयोग गर्न सकिन्छ र गाँजाबाट औद्योगीकरणको सम्भाव्य अनुसन्धान गर्नेछ। गाँजाको डाँठ, पात र रेसाबाट कपडा बनाउन सकिन्छ भन्ने विषयमा कार्यदलले अनुसन्धान थाल्नेछ।

मन्त्री डा। महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा सोमबार बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य तथा कृषि मन्त्रालयको सहसचिव सदस्यसचिव रहने गरी कार्यदल बनाएको हो।

कार्यदलले काम सुरु गरेको एक महिनाभित्रमा प्रतिवेदन बुझाउन अर्थमन्त्री डा. महतले निर्देशन दिएका छन्।

प्रकाशित : २१ कार्तिक २०८०, मंगलवार ११:५६