महासंघ पदाधिकारी र नवनिर्वाचित सेजन कार्यसमितिबीच भेटवार्ता, आर्थिक सुधारका लागि सहकार्यमा जोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

महासंघ पदाधिकारी र नवनिर्वाचित सेजन कार्यसमितिबीच भेटवार्ता, आर्थिक सुधारका लागि सहकार्यमा जोड



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आर्थिक सुधारका लागि निजी क्षेत्र सहित सबै सरोकारवालाहरुको सामुहिक प्रयास आवश्यक भएको बताएका छन् ।

महासंघ पदाधिकारी र नवनिर्वाचित नेपाल आर्थिक पत्रकार समाज (सेजन) कार्यसमितिबीच भेटवार्तामा आर्थिक सुधारका लागि उच्चस्तरिय आयोग वा संयन्त्र निर्माण गरि सहकार्य गर्ने अवधारणा आफुले अगाडि सारेको जानकारी दिए । महासंघ सचिवालयमा भएको उक्त भेटमा आर्थिक सुधारका लागि सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।

ढकालले सेजनसँगको सहकार्य महत्वपूर्ण हुने पनि उनको धारणा थियो । यसैगरी अन्य नीतिगत सुधार, भ्रमण आदिमा पनि महासंघ र सेजनबीच सहकार्य रहने अध्यक्ष ढकालले बताए । कार्यक्रममा सेजन अध्यक्ष सुजन ओलीले आर्थिक मन्दीका समयमा विभिन्न वस्तुगत र जिल्लामा कार्यरत उद्यमी व्यवसायी समस्यामा रहेको हुँदा सुधारका लागि सहकार्य गरिने बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले मुलुकभर नै उद्यमी व्यवसायी मन्दीका कारण प्रभावित भैरहेको हुँदा सबै क्षेत्रको विशेष पहल आवश्यक रहेको बताए । महासंघ उपाध्यक्षद्धय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठले उद्यमी व्यवसायीको हितमा सेजनले गरिरहेको कामको प्रशंसा गरे । सेजन महासचिव विश्वस रेग्मीले सकारात्मक सन्देश पनि प्रवाह गर्नु आवश्यक रहेको बताए । आर्थिक पत्रकारहरुको छाता संस्था सेजनको नयाँ कार्यसमिति २०८० भदौमा चयन भएको थियो ।

प्रकाशित : ३० आश्विन २०८०, मंगलवार १२:५५