मानव सेवा आश्रमद्वारा १० सडक मानवको उद्धार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

मानव सेवा आश्रमद्वारा १० सडक मानवको उद्धार



झापा। गत २६ गते काठमाडौंबाट मेची-महाकाली राष्ट्रिय उद्धार यात्रामा निस्किएको मानव सेवा आश्रमका यात्रीहरुले उद्धारको काम सुरु गरेका छन् । उद्धार कार्यक्रम बिहिबार मेचीनगर काकट्भित्ताबाट सुरु गरेर सुरुङगा क्षेत्रसम्म आईपुग्दासम्म १० जना व्यक्तिको उद्धार गरिएको छ।

जसमा उक्त क्षेत्र परिसर भित्रका ३ जना महिला, ६ जना पुरुष र १ जना बालिकाको उद्धार गरिएको छ। उद्धारको क्रममा मानव सेवा आश्रमका अभियन्तासँगै स्थानिय सरकार र प्रहरी प्रशासनको सहयोग लिएर सडकमा बेसहारा बसिरहेका व्यक्तिको उद्धार गरिएको हो। खुला आकाशमुनि रात बिताउन विवश घर परिवारविहीन, परिवार तथा समाजबाट परित्येक्त, बेसहारा, अनाथ, असक्त, अपाङ्ग, असहाय एवं मनोरोगी तथा जीवन नै जोखिममा रहेका हरेक उमेर समूहका व्यक्तिलाई विभिन्न वडाहरुबाट उद्धार गरिएको हो ।

साथै, विहिबार उद्धार भएका सडक आश्रित व्यक्तिहरुलाई कनकाई नगरपालिकास्थित उद्योग वाणिज्य संघको भवनमा ल्याएर उनीहरुको सरसफाई, खानपान र लत्ताकपडाको व्यवस्थापन गरिएको थियो । उनिहरुको दिर्घकालिन व्यवस्थापनको लागी मानव सेवा आश्रमले विराटनगर स्थित आश्रममा आईतबार साझा नै पठाएको छ । यसरी मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले सडकमा बेसहारा भएका मानवको उद्धारले मानव सेवा आश्रम परिवारको सदस्य बढेको र थप जिम्मेवारी बहन गर्न पाउँदा खुसि व्यक्त गरेका छन्। आश्रमको यस उद्धार कार्यमा स्थानिय प्रहरी प्रशासन र स्थानिय सरकारले समेत हातेमालो गरेको छ। चलिरहेको यस उद्धार यात्रामा कनकाई नगरपालिका प्रमुख राजेन्द्र कुमार पोखरेलले समेत यस्तो काममा स्थानिय सरकारको सहभागिता हुनुपर्ने र सरकार हरेक सहयोगको लागी तत्पर रहेको बताएका छन्।

आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसन­को सहकार्यमा सडकका बेसहाराहरुको उद्धार गरिएको हो । यो उद्धार यात्रा आगामी मङसिर ४ गतेसम्म चल्नेछ । जसको क्रमा मेचीदेखि महाकालीसम्मका विभिन्न ठाँउहरुलाई समेट्ने लक्ष्य संस्थाको छ । यससँगै,स्थापनाकालदेखि हालसम्म करिब ९ हजार सडक मानवलाई आश्रय दिँदै आएको आश्रमले औषधोपचार, पालनपोषण, मनोविमर्श, प्रारम्भिक स्वास्थ्य तथा मनोचिकित्सकीय सेवा, सुधार भएका र सक्षमका लागि जीविकोपार्जनसम्बन्धी तालीम दिँदै आएको छ। यससँगै, सुधारपश्चात् परिवारको खोजी, पारिवारिक पुनर्मिलन, पारिवारिक पुनर्मिलन हुन नसकेकाको दीर्घकालीन संरक्षणजस्ता सेवा प्रदान गर्दै आएको उक्त संस्थाले जनाएको छ ।

प्रकाशित : २९ आश्विन २०८०, सोमबार ११:०६