अध्ययन केन्द्रको रुपमा विकास हुँदै पर्वतीय सङ्ग्रहालय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

अध्ययन केन्द्रको रुपमा विकास हुँदै पर्वतीय सङ्ग्रहालय



कास्की । पर्यटकीय गन्तव्यको रुपमा चिनिएको पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय अध्ययन, अवलोकन गर्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । हिमाल र हिमाली क्षेत्रका सम्पूर्ण गतिविधिको पहिचान झल्किने गरी स्थापना गरिएको यस सङ्ग्रहालयमा अध्ययन, अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको हो ।

हिमाली क्षेत्रमा बसोबास गर्ने जातजातिको रीतिरिवाज, वेशभूषा, कला र संस्कृतिका साथै भौगोलिक अवस्थाका बारेमा जानकारी दिने उद्देश्यले सञ्चालनमा ल्याइएको उक्त सङ्ग्रहालय अवलोकन गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढेको सङ्ग्रहालयका निर्देशक निर्मला न्यौपानेले बताए । नेपाल पर्वतारोहण सङ्घद्वारा विसं २०६० मा एक सय रोपनी क्षेत्रफलमा निर्माण गरी सञ्चालनमा ल्याइएको उक्त सङ्ग्रहालयमा हालसम्म २५ लाखभन्दा बढी पर्यटकले अध्ययन, अवलोकन गरिसकेका उनले जानकारी दिए ।

“पछिल्लो समय अधिकांश पर्यटकको रोजाइमा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय नै पर्ने गरेको छ”, न्यौपानेले भने, “गत साउनमा मात्रै १२ हजारभन्दा बढी पर्यटकले सङ्ग्रहालयको अवलोकन गरेका छन् ।” उनका अनुसार आर्थिक वर्ष २०७८र७९ मा सङ्ग्रहालयमा अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या एक लाख ३७ हजार चार सय ८८ रहेकामा आव २०७९र८० मा त्यो सङ्ख्या बढेर दुई लाख पुगेको थियो । यो सङ्ग्रहालय पोखरामा पर्यटकको बसाइ लम्ब्याउन उत्तिकै महत्वपूर्ण बनेको उनको भनाइ थियो ।

सङ्ग्रहालयमा विश्वका आठ हजार मिटरभन्दा बढी उचाइ भएका १४, सात हजार पाँच सयदेखि सात हजार नौ सय ९९ मिटर उचाइसम्मका ४०, छ हजारदेखि छ हजार नौ सय ९९ मिटरसम्मका छ सय तीनसहित अन्य हिमाल गरी कूल एक हजार नौ सय १३ हिमचुचुरा र त्यस क्षेत्रमा बसोबास गर्ने बासिन्दाका वेशभूषा, संस्कृति, दैनिक उपयोग गर्दै आएका विभिन्न सामग्री सङ्ग्रह गरी प्रदर्शनमा राखिएका निर्देशक न्यौपानेले जानकारी दिए ।

“सङ्ग्रहालयले मुख्य आम्दानीको स्रोत टिकटबाट उठ्ने शुल्क नै हो”, उनले भने, “आव २०७८र७९ मा टिकट शुल्कबापत रू एक करोड ४३ सङ्कलन भएकामा आव २०७९र८० मा रू दुई करोड ३४ लाख सङ्कलन भएको छ ।”

सङ्ग्रहालय अध्ययन अवलोकन गर्ने पर्यटकका लागि टिकट शुल्कबापत विद्यार्थीका लागि रू ५०, सर्वसाधारण नेपालीका लागि रू एक सय, सार्कस्तरीय पर्यटकलाई रू दुई सय ५० र बाह्य पर्यटकका लागि रू पाँच सय लिइँदै आएको न्यौपानेले जानकारी दिए। त्यस्तै लामो समय नेपालमै बसोबास गर्दैआएका विदेशी नागरिकलाई रू दुई सय ५० र सङ्ग्रहालयको बगैँचा मात्रै अवलोकन गर्नका लागि रू ३५ लिने गरिएको उनले बताए ।

वर्षका सबैदिन खुला रहने सङ्ग्रहालयमा दसैँ र तिहारको लामो बिदामा अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या उल्लेख्य रहने न्यौपानेको भनाइ थियो । उनका अनुसार विश्वका हिमशृङ्खलाको उत्पत्ति, महत्व, यस क्षेत्रका वन्यजन्तु, वनस्पति तथा खनिज पदार्थलगायत सामग्री सङ्ग्रहालयमा राखिएका छन् ।

“विसं २०६० मा पोखरा–१७ स्थित घारिपाटमा रू १० करोडको लागलमा सङ्ग्रहालय निर्माण गरिएको हो । यसमा सरकारका तर्फबाट रू ३० लाख, जापान सरकारबाट रू एक करोड ४५ लाख ७८ हजार एक सय ११, कोरियाबाट रू छ लाख ६९ हजार तीन सय, चीनबाट रू तीन लाख ३६ हजार सात सय ५०, भारतबाट रू तीन लाख २० हजार र स्पेनबाट रू ३७ लाख सहयोग प्राप्त भएको थियो”, न्यौपानेले भने, “बाँकी रकम विभिन्न सङ्घसंस्था र व्यक्तिबाट पनि प्राप्त भएको छ ।”

हिमाली क्षेत्रको कला संस्कृति र भौगोलिक अवस्थाका बारेमा जानकारी दिने उद्देश्यले सङ्घले प्रत्येक वर्ष महोत्सवको आयोजना गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर ११ लाई विश्व पर्वतारोहण दिवस घोषणा गरेकाले विगत पाँच वर्षदेखि यसै दिन अन्तर्राष्ट्रिय पर्वतारोहण महोत्सव मनाउँदै आइएको निर्देशक न्यौपानेले जानकारी दिए। उनका अनुसार महोत्सवमा हिमाली क्षेत्रका जनजातिको दैनिकी, कला, संस्कृति र रीतिरिवाजलगायतको जानकारी समेटिने गरिएको छ ।

प्रकाशित : १९ आश्विन २०८०, शुक्रबार १५:३०