लक्ष्मी महिला साकोसको २५ औं वार्षिक साधारण सभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लक्ष्मी महिला साकोसको २५ औं वार्षिक साधारण सभा सम्पन्न



काभ्रे । लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको २५औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष मैया महतको अध्यक्षता र बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । संभामा संस्थाकी अध्यक्ष महतले सहकारी मर्म, भावना, सिद्धान्त र मुल्य मान्यतालाई आत्मसात गरी नीति नियम तर्जुमा गरेर त्यसलाई कार्यान्वय गर्दै संस्था अगाडी बढेको बताइन् ।

संस्थाले कार्यक्षेत्र भित्रका महिलाहरुलाई समेटेर आर्थिक तथा सामाजिक उत्थानका लागि काम गर्दै आएको उनले जानकारी दिइन् । सदस्यहरुमा उद्यमशीलता र सिप विकास गरी उनीहरुको आयस्तर वृद्धिमा पनि संस्थाले सहयोग गर्दै आएको उनले जानकारी दिइन् । प्रतिस्पर्धी र गुणस्तरीय सेवामार्फत सदस्यको गुणस्तरीय जीवनयापनको लागि संस्थाले टेवा पुर्याउँदै आएको महतले सभामा उल्लेख गरिन् । संस्थालाई दिगो र सबल बनाउन एकीकरणमा जाने वा एक जना सदस्यले अर्को सदस्य बनाउने नीति लिनु पर्ने आवश्यकता रहेको भन्दै उनले सदस्यता वृद्धि गर्नु अहिलको चुनौती भएको बताइन् ।

संस्थाकी सचिव शर्मिला अधिकारीले सहकारी महिलाहरुको सारथी भएको र न्युन आय भएका महिलाहरुलाई एकीकृत गरी उनीहरुको जीवनस्तर बदल्न संस्थाले काम गर्दै आएको बताइन् । सदस्यहरुमा विभिन्न तालिमका माध्यमबाट सिप विकास गर्नुका साथै महिलाको सशक्तिकरणमा पनि संस्थाले धेरै काम गरेको उनले सुनाइन् । संस्थाले नवदुलहि भेटघाट, सुत्केरी भता,मृत्यु राहत, विरामी राहत, जेष्ठ सदस्य सम्मान ,उत्कृष्ट बाल सदस्य सम्मान जस्ता थुप्रै गतिविधि गर्दै आएको उनले सभामा जानकारी दिइन् ।

संस्थाकी कोषाध्यक्ष सकुन्तला श्रेष्ठले आर्थिक बर्ष २०७९।८० को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर पुँजी २ करोड ६७ लाख ९९ हजार पुगेको जानकारी दिईन् । संस्थाले २ हजार ७८२ जना सेयर सदस्यबाट १७ करोड ८८ लाख १६ हजार बचत संकलन गरी १८ करोड १६ लाख ४५ हजार ऋण लगानी गरेको छ । संस्थाले त्यस अवधिमा ४९ लाख ७९ हजार खुद नाफा आर्जन गरेको छ । संस्थाले कृषि, पशुपालन, घरजग्गा, वैदेशिक रोजगार, अध्ययन ऋण, सदस्य सहुलियत, कर्मचारी सहुलियत र सामाजिक ऋण लगानी गर्दै आएको छ ।

प्रकाशित : १८ आश्विन २०८०, बिहीबार १६:२७