नेपालगन्जमा अनिश्चितकालका लागि कर्फ्यु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेपालगन्जमा अनिश्चितकालका लागि कर्फ्यु



काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाँकेले आज दिउँसो १ बजेदेखि लागू हुने गरी अनिश्चितकालिन निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ । सार्वजनिक सम्पत्ति तोडफोड, ढुङ्गामुढा प्रहारलगायतका गतिविधि बढेपछि कर्फ्यु लगाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए।

जिल्लाको पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुराको इन्द्रपुर जाने बाटो, उत्तरमा राझा चोक र दक्षिणमा जमुनाहा नाकासम्म कर्फ्यु आदेश जारी भएको हो । उक्त चार किल्ला सीमाभित्र कसैले भेला हुन सभा समारोह गर्न, जुलुस तथा र्‍याली गर्न र हिँडडुल गर्न समेत नपाइने गरी निषेधाज्ञा जारी भएको प्रजिअ आर्चायले जानकारी दिए । ओमकार परिवार र हिन्दु समाजलगायतका सङ्घ, संस्थाले आज नै नेपालगञ्जमा सदभाव र्‍याली निकालेका थिए । सो आदेशको उल्लङ्घन भए कानूनअनुसार कारवाही हुने स्थानीय प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार मात्र सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्‍याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न र सामाजिक सञ्जालमा पनि एकअर्काविरुद्ध जथाभावी नलेख्न आग्रह गरेको थियो । यदि त्यसो गरेमा स्थानीय प्रशासन ऐन २०२८ तथा प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको थियो ।

प्रकाशित : १६ आश्विन २०८०, मंगलवार १४:२१