पर्यटन प्रवद्र्धनका लागि ढोरपाटनमा उद्योग वाणिज्य महासङ्घको बैठक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

पर्यटन प्रवद्र्धनका लागि ढोरपाटनमा उद्योग वाणिज्य महासङ्घको बैठक



बागलुङ । पर्यटन प्रर्वद्धन, सम्भावना र लगानी खोज्ने उद्देश्यले ढोरपाटनमा नेपाल उद्योग वाणिज्य महसङ्घको बस्ने भएको छ । महासङ्घका तेस्रो कार्यकारिणी बैठक यही असोज १५ र १६ गते नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा बस्ने भएको हो ।

उद्योग वाणिज्य सङ्घ बागलुङ र ढोरपाटन उद्योग वाणिज्य सङ्घको आतिथ्यतामा बैठक गर्न थालिएको उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिए । उनका अनुसार बैठकमा महासङ्घका ७० जनाको कार्यसमितिसहित सरोकारवाला निकाय, ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाका जनप्रतिनिधिको सहभागिता रहनेछ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष कार्यालयले समेत समन्वयको भूमिकामा खेल्नेछ ।

“निजी क्षेत्रका उद्योगी तथा व्यवसायी ढोरपाटन आउँदा प्रचार–प्रसारसँगै त्यहाँको नयाँ सम्भावना र लगानीको क्षेको पहिचान हुनेछ”, कार्कीले भने “जिल्लामा पर्यटनको सम्भावना र लगानीका विषयमा अन्तरक्रिया पनि हुनेछ ।” उनले देशभरका निजी क्षेत्रका उद्योगी तथा व्यवसायीहरुले ढोरपाटनको विकासमा सहयोग पुर्याउनेमा विश्वास व्यक्त गरे। ढोरपाटनमा आवश्यक पर्यटकीय पूर्वाधार, सुविधासम्पन्न होटलसहित अन्य व्यावसायिक योजनासमेत बनाउन यो बैठकले सहयोग पुग्ने उनको भनाइ छ ।

“बैठक पर्यटकीय क्षेत्रको विकास, लगानीको खोज, कृषि उपजको बजारीकरणका लागि कोशेढुङ्गा सावित हुनेछ, ढोरपाटनमा आलु र स्याउको पनि राम्रो सम्भावना छ”, उनले भने।

बैठकमा सहभागी हुन आउने उद्योगी तथा व्यवसायीहरू होटल तथा सामुदायिक घरबासमा पाहुनालाई राखिनेछ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित कार्यसमितिले ढोरपाटन क्षेत्रको अध्ययन, स्थालगत अवलोकन र शिकार आरक्ष कार्यालयको भ्रमण गर्ने कार्ययोजना छ ।

सो अवसरमा उक्त टोलीले प्रसिद्ध ढोरबराह मन्दिरसमेत दर्शन गर्नेछ । ढोरपाटनमा देशभरका उद्योगी तथा व्यवसायीका नेता आउँदा यहाँको गरिमा बढ्ने ढोरपाटन उद्योग वाणिज्य सङ्घका अध्यक्ष ढालेन्द्र् छन्त्यालले बताए।

ढोरपाटन सिकार आरक्ष क्षेत्र, ढोरपाटन उपत्यका, स्याउ बगैँचा, ढोर बराह मन्दिर, देउराली, निशेलढोर, सिकार आरक्ष कार्यालयको सङ्ग्रहालयलगायत ढोरपाटनमा पर्यटक भुलाउने अनेकौ स्थान रहेकामा तिनीहरूको प्रचार–प्रसार हुने गरी बैठकको आयोजना गरिएको छ ।

सिकार खेल्नका लागि मात्रै विदेशी पर्यटक आउने ढोरपाटनमा पछिल्लो समय आन्तरिक पर्यटक वृद्धि भएको छ । तर ढोरपाटन पुग्ने सडक र त्यहाँ सुविधासम्पन्न होटलको अभाव छ ।

प्रकाशित : १२ आश्विन २०८०, शुक्रबार १२:१९