पण्डितपुर विकासमा जापानको चासो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पण्डितपुर विकासमा जापानको चासो



नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) रामग्राम नगरपालिका–१८ मा रहेको पुरातात्विक तथा ऐतिहासिकस्थल पण्डितपुरको विकासका लागि जापानी बौद्ध अनुरागीहरूको टोलीले चासो दिएको छ ।

बौद्ध महासङ्घका सल्लाहकार तथा एसियाली विकास बैंक एडिबीका पूर्व जनरल डाइरेक्टर नोरीतादा मोरीतासहितको टोलीले पण्डितपुरमा आएर यहाँको चौतर्फी विकासका लागि चासो व्यक्त गरेको हो ।

सो क्रममा टोली प्रमुख मोरीताले पण्डितपुरको संरक्षणका लागि नगरपालिकासँग मिलेर काम गर्न चाहेको बताउनुभयो । पण्डितपुरमा रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवसँग भएको भेटमा उहाँले पण्डितपुरमा बौद्ध विहारलगायतका संरचना निर्माणका लागि नगरपालिकामार्फत बजेट उपलब्ध गराउन चाहेको बताउँदै आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो ।

सो क्रममा नगरप्रमुख यादवले अहिले बुद्धको एकमात्र सिङ्गो अस्तुधातु रहेको रामग्राम स्तूप र पण्डितपुरलगायतका बुद्धस्थलको संरक्षण र विकासका लागि नगरपालिकाले काम गरिरहेको बताउँदै जापानी नागरिकले देखाएको चासो सरहानीय भएको बताउनुभयो । उहाँले नगरपालिकाले रामग्राम विकास कोषसमेत गठन गरेर संरक्षणको काम अगाडि बढाइसकेकाले नगरपालिका जापानी सहयोगबाट काम गर्न तयार रहेको उल्लेख गर्नुभयो ।

पण्डितपुर कोलीय गणराज्यको राजधानीका रूपमा परिचित छ । गौतमबुद्धको मावलीस्थल देवदह नभई पण्डितपुर भएको दाबी गरिए पनि उचित खोजबिन नहुँदा उक्त स्थल ओझेलमा पर्दै गएको छ । लुम्बिनी विकास कोषले ध्यान नदिएको भन्दै नगरपालिकाले अहिले बुद्धस्थलको संरक्षणका लागि रामग्राम विकास कोष बनाएर काम अगाडि बढाएको छ ।

प्रकाशित : ११ आश्विन २०८०, बिहीबार १७:४४