असोज २१ गतेदेखि चाडपर्व लक्षित सहुलियत पसल सुरु, हेर्नुस् कति पाइन्छ छुट ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

असोज २१ गतेदेखि चाडपर्व लक्षित सहुलियत पसल सुरु, हेर्नुस् कति पाइन्छ छुट ?



काठमाडौं । सरकारले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै असोज २१ गतेदेखि सहुलियतपूर्ण पसल सञ्चालन गर्ने भएको छ । मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको बैठकले सो दिनदेखि सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय गरेको हो ।

उक्त पसल सञ्चालनमा आएसँगै उपभोक्ताले ५० रुपैयाँसम्म छुट पाउने मन्त्रालयले जानकारी गराएको छ । मन्त्रालयका अनुसार सहुलियत पसलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ, दुग्ध विकास संस्थान लगायतले खाद्यान्न, तेल, दाल, गेडागुडी सहुलियतपूर्ण मूल्यमा उपलब्ध गराउने छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानले देशभरका ९८ स्थानमा सहुलियतपूर्ण पसल सञ्चालनमा ल्याउन लागेको मन्त्रालयले जानकारी गराएको छ । जसमध्ये खाद्य व्यवस्था तथा व्यापार कम्पनीको उपत्यकाभित्र काठमाडौंको थापाथली, रामशाहपथ, ललितपुरको नख्खु र भक्तपुरको सूर्य विनायक गरी ४ स्थानमा सहुलियत पसल सञ्चालनमा आउनेछन् । र, उपत्यका बाहिर भने मोरङ, झापा, ताप्लेजुङ, सङ्‍खुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्‍गा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङमा सहुलियत पसल सञ्चालनमा आउनेछन् ।

यसैगरी रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम पूर्व, पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डँडेलधुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगरमा पनि सहुलियत पसल सञ्चालनमा आउने छन् । कम्पनीले थप जिल्ला र स्थानहरुमा पनि सहुलियत पसल आवश्याकताका आधारमा सञ्‍चालन गर्ने बताएको छ । यस्तै निःशुल्क अनलाइन होम डेलिभरी, घुम्ती सेवा, सहकारी र डिलहरुको माध्यमबाट तोकिए बमोजिमको छुट दिई बिक्री वितरण गरिने मन्त्रालयले जनाएको छ ।

त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनले उपत्यकामा रहेका ८ वटा बिक्री केन्द्र र काठमाडौं उपत्यकामा रहेका ८ वटा बिक्री केन्द्र र ३ वटा घुम्ती पसल समेत गरी जम्मा ३५ स्थानमा बिक्री स्थलबाट सहुलियत सेवा दिने छ ।

यता दुग्ध विकास संस्थान डीडीसीले भने लैनचौर, न्यूरोड र खुमलटार, विराटनगर, जनकपुर, हेटौंडा, कोहलपुर, नेपालगञ्ज, अत्तरिया,धनगढी, बुटवल गरी जम्मा ११ स्थानबाट सहुलियत सेवा उपलब्ध गराउने मन्त्रालयले जानकारी गराएको छ ।

प्रकाशित : ९ आश्विन २०८०, मंगलवार १६:४०