हिरामोती बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न, १३.६ प्रतिशत लाभांश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिरामोती बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न, १३.६ प्रतिशत लाभांश पारित



काठमाडौं । काठमाडौंको सितापाइलामा कार्यालय रहेको हिरामोती बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। शनिबार सम्पन्न सभाले कर बाहेक १३.६ प्रतिशत लाभांश वितरणको प्रस्तावलाई पारित गरेको छ । साथै,आर्थिक वर्ष ०७९/८० असार मसान्त सम्मको संस्थाको आर्थिक गतिविधि लेखापरिक्षण प्रतिवेदन लगाएतका गतिविधि सर्वसम्मतले पारित गरेको हो।

संस्थाका अध्यक्ष पुर्ण प्रसाद गौतमको सभापतित्वमा सम्पन्न साधारणा सभामा जिल्ला समन्वय समिती काठमाडौंका सभापति सन्तोष बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको थियो ।

सभामा सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष पुर्ण प्रसाद गौतमले आर्थिक वर्ष ०७९/०८० को प्रतिवेदन प्रस्तुत गर्दै पछिल्लो समय प्रशस्त संभावना र चुनौतीहरुकाबीचबाट सहकारी अभियान अगाडी बढिरहदा कहिलेकाही एकाध संस्थाहरुमा देखिने गरेका समस्याले सम्पुर्ण सहकारी अभियानलाई नै हेर्ने दृष्टिकोण एउटै हुने गरेको प्रति चिन्ता व्यक्त गरे । साथै उनले व्यवस्थापकिय समस्या, केहि संस्थाका संचालकहरुको स्वार्थ केन्द्रित गतिविधी, अनउत्पादक क्षेत्रमा बढी लगानी, अनावश्यक ब्याजदरमा निक्षेपमा बचत लिने गर्दा समस्या निम्त्याएको र यी तमाम कुरालाई दृष्टिगत गर्दै आफुहरु अगाडी बढीरहेको उनले प्रतिवेदन मार्फत जानकारी दिए ।

प्रतिवेदन अनुसार संस्थाको आर्थिक वर्ष ०७८/०७९ मा तीन करोड ४७ लाख ७० हजार रुपैंया सेयर पूँजी रहेकोमा गत आर्थिक बर्ष ०७९/०८० को असारमसान्तसम्ममा २० लाखले बढेर तीन करोड ६७ लाख ७५ हजार पुगेको छ । त्यस्तै, अघिल्लो आवमा चार करोड ९२ लाख ३३ हजार रुपैया निक्षेप पुगेकोमा गत बर्ष चार करोड ४४ लाख नौ हजार रुपैंया निक्षेप रहेको जानकारी दिए ।

सभामा बोल्दै सभापति सन्तोष बुढाथोकीले सहकारीले जुन हिसाबले मुनाफा वितरण गर्दै संञ्चालनमा आइरहेको छ त्यो आगामी दिनमा पनि दिगो रुपमा बढ्दै जाने विश्वास व्यक्त गरे । उनले सहकारी कुन हिसाबले अगाडी बढेको छ भनेर आकलन गर्न बोर्डमा रहेका व्यक्तिहरूमा भरपर्ने भन्दै संचालक समितिहरु अयोग्य, असक्ष्म भएमा सहकारी कुन दिशामा जान्छ भन्ने कुरा पछिल्लो समय सहकारीमा भइरहेको गतिविधिले पुष्टि पारेको पनि उनले बताए । उनले भने, ‘केहिसमय अघि विभिन्न सहकारी सेयर सदस्यहरु धेरै पिडामा माइतीघर मंण्डलामा उत्रिएको पनि देखेका छौ। यस्तो अवस्थाबाट गुज्रिदापनि हिरामोती सहकारीले सदस्यहरुलाई समेटेर जसरी अगाडी बढेको छ । यसले आगामी दिनमा धेरै प्रगति गर्ने मैले देखेको छु।’

संस्थाका उपाध्यक्ष नारायण काफ्लेले सहकारीले १४ वर्ष पुरा गरिरहँदा हामी सबै सानो रकममा अल्जेर बसेका छैनौ। देशको आर्थिक स्थितिमा समस्या आउँदा पनि हामी र हाम्रो संस्था स्थिर रहेर काम गरिरहेकाे छ। सबै सहकारीमा समस्या आएपनि आफुहरूकाे सहकारीमा केहि समस्या नआउनेमा आफु ढुक्क रहेको बताए । उनले यस वर्ष कर बाहेक १३.६ प्रतिशत बोनस दिने पनि जानकारी दिए ।

सभामा संस्थाका सचिव बालचन्द्र शर्माले संस्थाले प्रदान गर्ने सेवा समय सापेक्ष परिवर्तन गरिँदै लगिएको बताए । साथै, विभिन्न आरोह अवरोहलाई पार गर्दै १४ बर्ष पुरा गर्न सफल भएकोमा खुसी व्यक्त गरे ।

गत आवमा संस्थाको कर्जा लगानी घटेको छ । अघिल्लो आवमा संस्थाले सात करोड ७८ लाख ७२ हजार रुपैंया कर्जा लगानी गरेकोमा गत आवमा उक्त रकम घटेर छ करोड ४३ लाख २९ हजार रुपैंयामा झरेको छ । यता संस्थाले कर्जा असुली पनि घटाएको छ । अघिल्लो आवमा सात करोड ९५ लाख ५४ हजार रुपैंया रहेकोमा गत आवमा यस्तो रकम सात करोड ४१ लाख २४ हजारमा झरेको छ । संस्थाकाे अघिल्लाे आवकाे तुलनामा गत आवमा आर्थिक मन्दी, पछिल्लाे समय मानिसहरूमा सहकारीप्रतिकाे अविश्वास बढ्दाे रहेकाले संस्थाका प्राय वित्तिय सूचकमा कमी आएकाे संस्थाले जनाएकाे छ ।

साधारणसभामा एस.ई.ई परिक्षामा उत्कृष्ट अंक ल्याउने संस्थाका सेयर सदस्यका छोराछोरीलाई सम्मान, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट कर्मचारी, जेष्ठ सेयर सदस्य लगायतको विधामा सम्मान समेत गरेको थियो । साथै, सेयर सदस्यको परिवारमा दुर्घटनार मृत्यु भएमा आवश्यक सर सहयोग पनि संस्थाले गर्दै आएको छ ।

प्रकाशित : ७ आश्विन २०८०, आईतवार ०८:४९