काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरेको छ । यसमा अब असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि कम्पनीले असोज ७ गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सकिने जनाएको थियो । तर, उक्त समयमा मागअनुसार आवेदन नपरेकाले यस कम्पनीले हकप्रद सेयरमा आवेदन दिने समय थप गरेको हो । यस कम्पनीले भदौ १८ गतेदेखि १००% हकप्रद सेयर बिक्री खुला गरेको हो ।
कम्पनीले १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । जसअनुसार १ सय रुपैयाँ अंकित मूल्यमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर निष्कासन खुला भएको छ । यस हकप्रद सेयरका लागि कम्पनीले गत साउन २६ गते बुक क्लोज गरेको थियो । साउन २५ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद दाबी गर्न पाउनेछन् ।यो हकप्रद सेयरमा नागरिक लगानी कोष र सनराइज क्यापिटलले बिक्री प्रबन्धकको जिम्मेवारी लिएका छन् ।
यस हकप्रदमा सनराइज क्यापिटल, नागरिक लगानी कोष कार्यालयबाट पनि आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । अपरले कर्जा तिर्न र २२ मेगावाटको रोल्वालिङ खोला निर्माण गर्न हकप्रद सेयरमार्फत रकम संकलन गर्न लागेको हो । लगानीकर्ताले यी स्थानबाट पनि आवेदन दिन सक्नेछन् ।
Comment