एनआरएनएको निर्वाचन तालिका सार्वजनिक, अध्यक्ष पदको मनोनयन शुल्क पाँच लाख रुपैंयाँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

एनआरएनएको निर्वाचन तालिका सार्वजनिक, अध्यक्ष पदको मनोनयन शुल्क पाँच लाख रुपैंयाँ



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशन अर्थात विश्व सम्मेलनको निर्वाचन तालिका सार्वजनिक भएको छ । नयाँ नेतृत्व चयनका लागि हुने महाधिवेशनमा अक्टोबर १९ तारिख विहीबारलाई मतदानको समय तोकिएको छ । मतदान अनलाइनमार्फत हुने जनाइएको छ ।

महाधिवेशनबाट ७४ सदस्यीय कार्यसमिति चयन गरिने निर्वाचन समितिद्वारा जारी गरिएको सूचनामा उल्लेख छ । समितिका अनुसार अनलाइन मार्फत उम्मेदवारी दर्ता गर्न पाइने तर उम्मेदवार र प्रस्तावक हस्ताक्षर सानखत गर्न अनिवार्य भौतिक रुपमा निर्वाचन कार्यालयमा उपस्थित हुनु पर्नेछ ।

अनलाइन मार्फत दर्ता गरेका उम्मेदवारहरुले १६ तारिख ५ बजे सम्म भौतिक रुपमा निर्वाचन कार्यालयमा उपस्थित भएर सनाखत गर्नु पर्नेछ । भौतिक रुपमा उम्मेदवारी दर्ता गर्न चाहने उम्मेदवारले अक्टोवर १५ र १६ तारिख दिउंसो १ बजे सम्म उम्मेदवारी दर्ता गर्न सक्ने छन् ।

उम्मेदवारको अन्तिम नामावली अक्टोवर १७ तारिख साँझसम्म प्रकाशन हुने भएको छ । मतदान समय १९ तारिख विहान नेपाली समय १० देखी ६ बजे सम्म भौतिक रुपमा काठमाडौंस्थित सोल्टि होटलमा हुनेछ । यस्तै अनलाइन मार्फत मतदान १९ तारिख विहान १२ बजे देखि साँझ ८ बजेसम्म हुने कार्यतालिका तय गरिएको छ ।

समितिका अनुसार २० सेप्टेम्बरका दिन मतदाताको पहिलो नामावली प्रकाशन गर्ने तयारी रहेको छ । मतदाताको अन्तिम नामावली २६ सेप्टेम्बरमा प्रकाशन गर्ने कार्यतालिका तय गरिएको छ । पदाधिकारीहरुको मनोनयन शुल्क पनि सोही सूचनामार्फत सार्वजनिक भएको छ । अध्यक्ष पदमा उम्मेदवार बन्न चाहनेले पाँच लाख रुपैंयाँ शुल्क बुझाउनुपर्नेछ । उपाध्यक्षका लागि ३ लाख ५० हजार र महासचिबका लागि तीन लाख रुपैंयाँ मनोनयन शुल्क निर्धारण गरिएको छ ।

प्रकाशित : ३ आश्विन २०८०, बुधबार ११:३२