काठमाडाैं । संविधान दिवसको अवसर पारेर बुधबारदेखि काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवा सञ्चालनमा आउँदैछ । सूर्यविनायक-रत्नपार्क सडक खण्डमा चल्ने द्रुत बस सेवाको उद्घाटन बिहान ९ बजे हुनेछ । अरु सार्वजनिक बसलाई रत्नपार्क-सूर्यविनायक पुग्न डेढ घण्टा समय लाग्ने गरेकोमा द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्ने बताइएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार मन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह, मध्यपुर थिमी, सूर्यविनायकका मेयरहरु सवार द्रुत बस रत्नपार्कबाट छुट्नेछ।
यसका लागि सडकमा रातो रंगको डेडिकेटेड लेन बनाइएको छ। यातायात व्यवस्था विभागले २५ वटा ठूलो बस सो लेनमा चलाउनका लागि व्यवस्थापन गर्नेछ। द्रुत सेवा अन्तर्गतका बसहरु बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म गरी दुई सिफ्टमा चल्ने बताइएको छ।
द्रुत सेवाका बसहरु ट्राफिकको रातो बत्तीमा पनि रोकिनेछैनन्। ट्राफिक प्रहरीले एम्बुलेन्सलाई जसरी नै यी गाडीहरु पास गराउनेछन्। यी बसहरुले निर्धारित १९ स्थानहरुमा मात्रै यात्रु ‘पिक एण्ड ड्रप’ गर्नेछ। रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, तीनकुने, कोटेश्वर जडीबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, चारदोबाटो लगायतका स्थानहरुमा यी बसहरुले यात्रु ‘पिक एण्ड ड्रप’ गर्नेछ।





Comment