देशले नदेखेको नार्पाभूमि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

देशले नदेखेको नार्पाभूमि



मनाङ । गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये सडक सञ्जालसँग नजोडिएको एउटै मात्र पालिका हो मनाङको नार्पाभूमि गाउँपालिका । नार्पाभूमि जिल्ला सदरमुकामबाट ७० किलोमिटर टाढा छ । विकट यस पालिका पुग्न दुई दिन पैदल यात्रा गर्नुपर्छ ।

सङ्घीयता कायम नहुँदै त नार्पाभूमिको विकासमा राष्ट्रको नजर पर्न सकेन । अहिले सङ्घीयता कायम भएपछि पनि माथिल्लो सरकारको नजर पर्न सकेको छैन । तर, नार्पाभूमि विकट भएर पनि हुनसक्छ सङ्घ सरकार तथा प्रदेश सरकारको नजर अझै पर्न सकेको छैन । यहाँको विकासलाई हेर्ने हो भने नार्पाभूमि राज्यविहीनकै अवस्थामा रहेको छ । देशलाई चिनाउनकै लागि महत्वपूर्ण भूमिका खेल्ने पर्यटकीय क्षेत्रको सरकारले चासो दिएको पाइएको छैन ।

सरकारले यस्ता महत्वपूर्ण पर्यटकीय क्षेत्रलाई वास्ता नगरेकाले पिछडिएका स्थानीयवासीको भनाइ छ । नार्पाभूमि–५ का वडाध्यक्ष सोनम तेन्जिङ लामाले सडकको अभावमा पर्यटकीय तथा स्थानीय उत्पादन बजारसम्म पु¥याउन समेत सकिने अवस्था नरहेको बताए । उनका अनुसार नार्पाभूमिको विकासका लागि स्थानीय सरकारबाहेक अन्य सरकारको चासो पुग्न नसक्दा उपेक्षा गरिएको आभास हुने गर्छ ।

विकट क्षेत्रको विकासमा कुनै पनि सरकारको चासो नपुग्दा यहाँका स्थानीय निरास हुने गरेका छन् । नार्पाभूमि गाउँपालिकाका निवर्तमान अध्यक्ष मिङ्मा छिरिङ लामाले माथिल्ला सरकारले आम्दानीसँग जोडिएका क्षेत्रको विकासमा नै चासो नदिँदा उपेक्षा गरिएको महसुस हुने गरेको बताए । “सडक सञ्जालसँग जोडेर स्थानीयवासीको सहज यात्रा गराउने उद्देश्यसहित पटकपटक सङ्घ सरकार र प्रदेश सरकारसमक्ष माग पेस गरेँ, तर सुनुवाइ नहुँदा मेरो कार्यकाल सकियो, अझै पनि समन्वय गर्ने भूमिकामा उभिएकै छु”, उनले भने , “वर्तमान गाउँपालिका अध्यक्षले पालिकाले नै सडक सञ्जाल बनाउनुपर्छ भनेर सडक सञ्जाल खन्ने काम गरिरहनु भएको छ, उहाँलाई हाम्रो साथ, सहयोग छ ।” सरकारले सहयोग नगरे पनि पालिकाले सडक सञ्जाललाई प्राथमिकता दिएर गरेको उनको भनाइ छ ।

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले आवश्यक मात्रामा बजेट विनियोजन नगर्दा पालिकाले आफैँ एक्साभेटर र ब्रेकर खरिद गरी पालिकालाई सडक सञ्जालसँग जोड्ने प्रयास गरिरहेका जानकारी दिए । उनका अनुसार हालसम्म १४ किलोमिटर जति बाटो खन्ने काम भइसकेको छ ।

सडक सञ्जालबिना अन्य विकासका काम असम्भव हुने हुँदा हामीले बजेट विनियोजन गरेर पालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने प्रयास गरिरहेको बताए । पालिकाको केन्द्र च्याँखुसम्म जिल्ला सदरमुकामबाट २६ किलोमिटरको दूरी छ । पहिला गाउँपालिकामा कुनै पनि भौतिक पूर्वाधार थिएन । अध्यक्ष लामाले भने , “उच्च हिमाली क्षेत्र नार्पाभूमिको माथिल्ला सरकारसँग पहुँचको अवस्था छैन, हामीले वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय भवन, बोर्डर आउट पोस्ट खडा गरिसकेका छौँ, यसैलाई विकास मान्नुपर्ने अवस्था छ ।” ‘सम्पन्न नार्पाभूमि ः प्रसन्न नार्पा जाति’ भन्ने नाराका साथ गाउँपालिकाले पर्यटन, जडीबुटी र भौतिक पूर्वाधारको विकासमा जोड दिइरहेको उनको भनाइ छ ।

चीनसँग सिमाना जोडिएको विकट यस पालिकाले यार्सागुम्बालगायतका जडीबुटीका लागि व्यावसायिक रूपमै खेती गर्ने योजना बनाएको छ । यहाँको जिम्बुलाई देशविदेशसम्म पुर्याएर यहाँको प्रवद्र्धन गर्न लागिरहेको उनको भनाइ छ । पर्यटनको सन्दर्भमा नार्पाभूमिको ‘भिलेज प्रोफाइल’ तयार भएको छ । यहाँ भएका नार्फु ट्रेयल, (सेभेन पास ट्रेयल), नार गाउँ, फु गाउँ, सत्य गुम्बा, काङ्ला पास, टासिलाकाङ गुम्बा र काङ्ला पोखरी लगायतका द पर्यटकीय तथा धार्मिक स्थानको प्रचारप्रसार गरिरहेका उहाँले बताउनुभयो । नार्पाभूमि गाउँपालिकालाई नमुना पर्यटकीय स्थलका रूपमा विकास गर्ने लक्ष्य लिएको उहाँले जानकारी दिए ।

विकट क्षेत्रमा कर्मचारी आउन नचाहने हुँदा कर्मचारीको व्यवस्थापन एक जटिल समस्या बनेको उनको भनाइ छ । ‘‘सेवाग्राही थोरै मात्र हुने भएकाले कर्मचारीलाई काम गर्न सजिलो हुँदा समेत कर्मचारीहरु आउन मान्दैनन्’’ उहाँ भन्नुहुन्छ । ‘व्यवस्थित बस्ती विकास’ कार्यक्रम सञ्चालन गर्नुका साथै समयसमयमा घुम्ती शिविर राखेर पनि सेवा प्रवाह गरिरहेको उनले जानकारी दिए । शिक्षा, स्वास्थ्य, पर्यटनलगायत अन्य विकासका पूर्वाधारका क्षेत्रमा पनि पालिकाले प्राथमिकता दिएको छ ।

फु गाउँ चीनसँगको अन्तर्राष्ट्रिय सीमा रहेको छ । अहिलेसम्म त्यहाँ सीमास्तम्भ राखिएको पाइएको छैन । नार्पाभूमिलाई सुरक्षित राख्न फु गाउँमा बोर्डर आउट पोस्ट (बिओपी) राख्नेबारे छलफल भइरहेको उहाँले जानकारी दिए । उनले भने , “यसका लागि आवश्यक पर्ने पूर्वाधार र सातदेखि १० रोपनी जमिनको खोजी भइरहेको छ, सर्वदलीय छलफलबाट बिओपी राख्ने सहमति भइसकेको छ, गृह मन्त्रालय र गृहमन्त्रीसँग पनि यस विषयमा छलफल गरेका छौँ, अन्तर्राष्ट्रिय सिमाना सुरक्षित गर्न राज्यको पनि ध्यान जानु जरुरी छ ।”

भौगोलिक विकटताले गर्दा यहाँ कोहीलाई जटिल स्वास्थ्य समस्या आयो भने हेलिकोप्टर चार्टर गर्नुको विकल्प छैन । विपन्न वर्गलाई उपचारको पहुँचसम्म पु¥याउन पालिकाले ५० प्रतिशत छुटमा व्यवस्थापन गर्ने गरेको उनले जानकारी दिए । सामान्य स्वास्थ्य समस्यालाई यहाँका स्वास्थ्य चौकीमा नै औषधोपचार हुने गरेको छ ।

पर्यटकले जथाभाबी फोहोर फाल्दा नदी फोहोर भएको तीतो अनुभव रहेको अध्यक्ष लामाले सुनाए । नदी सफा गर्नेतर्फ पालिको ध्यान केन्द्रित गरेको उनले बताए । अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत आउने पर्यटकलाई दोब्बर रोयल्टी तिर्नुपर्ने प्रावधान निर्धारण गरिएको छ । यहाँका हिमलुङ, चोय, जुलु पिक, जुलु फरेस्टलगायतका साना हिमाल आरोहणमा पर्यटक आउने गर्दछन् ।

त्यस्तै यहाँको पर्यटकीय क्षेत्रको रुपमा परिचित समुद्री सतहबाट पाँच हजार दुई सय मिटर उचाइमा रहेको काङ्ला पास, मुस्ताङ निस्कने तेरिला पास पनि यसै क्षेत्रमा पर्दछ । यस पदमार्ग हुँदै घुम्न आउने पर्यटकलाई सहज बनाउन आवश्यक छ । स्थानीय तहले सडक सञ्जाललाई विकास गर्दा पदमार्गलाई असर नगर्ने गरी सङ्घ र प्रदेश सरकारले सहयोग गरेमा यहाँको प्राकृतिक सौन्दर्यतालाई संरक्षण गर्न सकिन्छ ।

प्रकाशित : २६ भाद्र २०८०, मंगलवार १४:३४