केपी ओली भन्छन्- बैंकले गरिवका लागि ऋण प्रवाह गरेनन्, सहकारी संस्थासँग सरकारले सहकार्य गरोस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

केपी ओली भन्छन्- बैंकले गरिवका लागि ऋण प्रवाह गरेनन्, सहकारी संस्थासँग सरकारले सहकार्य गरोस



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरूले अझै पनि गरिबलाई ऋण प्रवाह नगरेको बताएका छन् ।

पार्टीको केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागले आइतबार च्यासलमा आयोजना गरेको कार्यक्रमा बोल्दै ओलीले ठूलो पुँजीपतिहरूलाई खोजेर अर्बौं लगानी गर्ने बैंकहरूले अझै पनि गरिबलाई ऋण नदिएको बताए ।

उनले साना बैंक तथा वित्तीय संस्थाले बाख्रापालनजस्ता व्यवसायको लागि दिएको लगानी पनि मुनाफा नभएपछि डुब्ने गरेको बताए ।

अध्यक्ष ओलीले गरिबलाई पनि बैंकहरुले कुनै व्यवसाय गर्नका लागि ऋण प्रवाह गर्नुपर्ने बताए ।

सहकारी संस्थाहरुसँग सरकारले पनि सहकार्य गरेर अघि बढनुपर्ने उनले बताए । ओलीले भने, ‘बैंकहरुले कि त अहिलेजस्तै ठूलाठूला पुँजीपति खोजेर लगानी गर्ने, तल साँच्चै जसलाई ऋण चाहिएको छ । उसकहाँ बैंकको ऋण पुग्दैपुग्दैन । जो अर्बपति छ, उसँग मात्रै ऋण पुग्छ । ठूलाकोमा ऋण नपुगोस् भन्ने होइन । ठूलो उद्योगका लागि त्यो पनि आवश्यक छ ।’

उनले थपे, ‘ठूला उद्योग, ठूला व्यवसाय सञ्चालन पनि गर्नु पर्छ । त्यसकारण ठूलाका लागि पनि आवश्यक छ । तर त्यहाँ मात्रै होइन । गरिवका, जहाँ सिड मनि छैन । जहाँ व्यवसाय शुरु गर्नका लागि केही छैन । हो त्यस्तो ठाउँमा लोनको व्यवस्था हुनुपर्छ । त्यस्तो ठाउँमा माईक्रो फाइनान्स पुग्यो भने पनि बिल्कुल इन्डिभिजियोल कहाँ पुग्छ । त्यसबाट मुनाफा हुँदैन । ’

ओलीले राष्ट्रिय अर्थतन्त्रको निर्माणको सबैभन्दा महत्वपूर्ण माध्यम सहकारी हुने भएकाले त्यसको विकासका लागि सरकारलाई सचेत गराए ।

प्रकाशित : 11 September, 2023 8:10 am