राष्ट्रसेवकहरूलाई निरुत्साहित गर्ने गरी आएका अभिव्यक्तिहरुप्रति जिल्ला प्रशासन कार्यालयकाे ध्यानाकर्षण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्रसेवकहरूलाई निरुत्साहित गर्ने गरी आएका अभिव्यक्तिहरुप्रति जिल्ला प्रशासन कार्यालयकाे ध्यानाकर्षण



काठमाडौं । राष्ट्रसेवकहरूलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालमा आएका अभिव्यक्तिहरुप्रति काठमाडौं जिल्ला प्रशासन कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ । कार्यालयले सोमबार विज्ञप्ति जारी गरी कानूनको नजरमा सबै समान हुने बताएको छ ।

शनिबार साँझ काठमाडौं महानगरपालिकाका मेयर बालेन साहकी पत्नी सवार मेयरको गाडी ट्राफिक प्रहरीले रोकेको भन्दै बालेनले अराजक अभिव्यक्ति दिएका थिए । ‘हामीले अवलम्बन गरेको लोकतन्त्र र विधिको शासनले कानुनको दृष्टिमा सबै समान छन भन्ने कुरा स्थापित गरेको व्यहोरा जगजाहेर छ । प्रचलित कानूनको बर्खिलाप गरिने जुनसुकै गतिविधिहरु नियन्त्रण गर्न र विधिको शासन प्रत्याभूत गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकाय प्रतिवद्ध रहेको छ’, जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकहरुलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालहरुमा व्यक्त भएका अभिव्यक्तिहरुप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ’, जिल्ला प्रशासन कार्यालयले भनेको छ, ‘यसर्थ आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरुलाई कर्तव्य पालनामा बाधा अवरोध नपुयाउनु हुन र विभिन्न सामाजिक सञ्जालहरुमा जथाभावी वक्तव्यबाजी नगर्नु नगराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।’

सरकारी स्रोत साधनको दुरुपयोग हुन नदिन सार्वजनिक विदाका दिनमा सरकारी सवारी साधनको सञ्चालनमा निगरानी र नियन्त्रण गर्ने कार्य सबै जिल्ला प्रशासन कार्यालयहरु मार्फत् विगतदेखि नै हुँदै आएको काठमाडौं जिल्ला प्रशासनले भनेको छ ।

‘गृह मन्त्रालयले विभिन्न मितिमा यसको अनुगमन, नियमन र नियन्त्रणका लागि परिपत्र समेत गर्ने गरेको छ । सरकारी कामका लागि विदाका दिनमा सरकारी सवारी साधन प्रयोग गर्नुपर्दा तोकिएका अधिकारीबाट जारी भएको सवारी पास प्रयोग गर्न पाउने स्पष्ट व्यवस्था रहेको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘सुरक्षाकर्मी एवम् कर्मचारीहरु विद्यमान कानुन एवम् नीति निर्देशनको पालना गर्नरगराउन अहोरात्र फिल्डमा खटिएर काम गर्दै आएका छन् । आफूलाई प्राप्त जिम्मेवारी पूरा गर्न यसरी खटिने सुरक्षाकर्मी र कर्मचारीहरुलाई जिम्मेवार सरकारी निकाय, पदाधिकारी, नागरिक समाज र आम नागरिकका तर्फबाट उचित सहयोग, समर्थन र हौसला सदैव अपेक्षित हुन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘कार्यक्षेत्रमा खटिएका कर्मचारी वा सुरक्षाकर्मीहरुका बारेमा कुनै गुनासो भएमा तथ्य प्रमाण सहित सम्बन्धित निकायका प्रमुख वा गुनासो सुन्ने अधिकारी समक्ष जानकारी हुन आएको खण्डमा प्राप्त गुनासो उपर छानबिन गरी आवश्यक निर्णय हुनेछ ।’

प्रकाशित : १८ भाद्र २०८०, सोमबार १३:२९