चालू पूँजी कर्जा मार्गदर्शन संशोधनले निजी क्षेत्र हतोत्साहितः महासंघ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

चालू पूँजी कर्जा मार्गदर्शन संशोधनले निजी क्षेत्र हतोत्साहितः महासंघ



काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले चालू पूँजी कर्जा मार्गदर्शन संशोधनले निजी क्षेत्रलाई हतोत्साहित गर्ने जनाएको छ।महासंघले नेपाल राष्ट्र बैंकबाट सोमबार भएको चालू पूँजी कर्जा मार्गदर्शन संशोधनबारे धारणा सार्वजनिक गर्दै यस्तो प्रतिक्रिया दिएको हो।

चालू पुँजी कर्जा मार्गदर्शन संशोधनले महासंघबाट उठान हुँदै आएका माग आंशिकरूपमा संशोधन भएकोमा सकारात्मक लिएको बताउँदै केही विषयमा भने महासंघले असन्तुष्टि व्यक्त गरेको छ।

महासंघले कुनै समूहभित्रको कुनै एक ऋणीले लिएको कर्जा निष्क्रिय वर्गमा वर्गीकरण भए समूहमा रहेका अन्य ऋणीको उक्त ऋणीसँगको व्यावसायिक अन्तर्सम्बन्धबाट पर्ने असर विश्लेषण गरी उक्त ऋणीबाट प्रत्यक्ष प्रभावित हुने समूहका अन्य ऋणीलाई समेत सोही निष्क्रिय वर्गमा वर्गीकरण गर्नुपर्ने व्यवस्थाले निजी क्षेत्र हतोत्साही बनाउने जनाएको छ।

यसले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा अनुपात बढ्न गई अर्थतन्त्रमा नै प्रतिकूल असर पर्ने महासंघको भनाइ छ।

‘एकीकृत निर्देशनमा कुनै पनि कर्जा निष्क्रिय वर्गमा (पुनर्संरचना र पुनर्तालिकीकरण बाहेक) वर्गीकरण भएमा कर्जाको भाखा नाघेको बक्यौता रकम भुक्तानी गरी लगातार ६ महिनासम्म कर्जाको किस्ता वा ब्याज नियमित भएको अवस्थामा मात्र असल वर्गमा स्तरोन्नति गरी सोही बमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था गरिएको छ, जसप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ महासंघले जारी गरेको विज्ञप्तिमा छ।

त्यस्तै महासंघले पछिल्लो समय बैंक तथा वित्तीय संस्था र विभिन्न समुदायप्रति विविध किसिमका नकारात्मक प्रचार एवं टिकाटिप्पणी भएको भन्दै त्यसप्रति पनि ध्यानाकर्षण जनाएको छ।

सामाजिक सद्भाव र व्यावसायिक वातावरणमा खलल पुग्ने गरी भइरहेका गतिविधिले अर्थतन्त्र र सामाजिक संरचनामा नकारात्मक प्रभाव पर्ने हुँदा यसतर्फ सचेत रहन महासंघले आग्रह गरेको छ।

प्रकाशित : १२ भाद्र २०८०, मंगलवार १८:११