यी व्यवसायीले करमा पाउँदै आएकाे चौमासिक व्यवस्था खारेज, अब मासिक रुपमा बुझाउनुपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

यी व्यवसायीले करमा पाउँदै आएकाे चौमासिक व्यवस्था खारेज, अब मासिक रुपमा बुझाउनुपर्ने



काठमाडौं। आन्तरिक राजस्व विभागले वार्षिक १ करोड रुपैयाँभन्दा बढीको कारोबार भएका केही व्यवसायीहरुलाई प्रदान गर्दै आएको चौमासिक रुपमा करको विवरण पेस गर्ने सुविधा खारेज गरेको छ। विभागले शुक्रबार एक सूचना जारी गरी सो बारे जानकारी गराएको हो।

विभागले सुचनामा मूल्य अभिवृद्धि कर निमायवली, २०५३ को नियम २६ मा संशोधन गर्दै साबिकमा रहेको इँटा उद्योग, होटेल, पर्यटन तथा चलचित्र घरले चाहेमा विवरण पेस गर्ने अवधि चौमासिक कायम गर्न सक्नेछ भन्ने व्यवस्था खारेज गरेको जनाएको छ।

संशोधित व्यवस्थाअनुसार मूल्य अभिवृद्धि करमा दर्ता भएका वार्षिक एक करोड रुपैयाँभन्दा बढीको कारोबार भएका इँटा उद्योग, होटेल, पर्यटन तथा चलचित्र घरले २०८० साउनदेखि मासिक रुपमा मूल्य अभिवृद्धि करको विवरण दाखिला गर्नुपर्ने सूचनामा उल्लेख छ।

हाल द्धैमासिक अवधिमा मूल्य अभिवृद्धि कर विवरण दाखिला गर्ने सुविधा नरहेकोले वार्षिक १ करोड रुपैयाँभन्दा बढीको कारोबार भएका करदाताले मासिक रुपमा नै विवरण दाखिला गर्नुपर्नेसमेत विभागले जनाएको छ।

प्रकाशित : १ भाद्र २०८०, शुक्रबार ११:२७