धनुषाको मिथिला बिहारी नगरपालिकामा अख्तियारको छापा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

धनुषाको मिथिला बिहारी नगरपालिकामा अख्तियारको छापा



जनकपुरधाम । मिथिला बिहारी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । ज्येष्ठ नागरिकहरुको सम्मानका लागि रकम निकासा भएपनि सम्मान नगरिएको आरोपमा नगरपालिकामा अख्तियार बर्दिवासले छापा मारेको हो ।

नगरपालिका–९ अन्दुपट्टिका वडाध्यक्ष विन्द्येश्वर यादवले ज्येष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रमको लागि छुट्टयाइएको ४ लाखको बजेटमा एक कर्मचारी राजकुमार मण्डलको नाममा पेस्की भुक्तानी लिएको तर सम्मान नगरेको उजुरी परेपछि अख्तियारले छापा मारेको हो ।

त्यस्तै, वैदेशिक रोजगारबाट फर्केका युवाहरुको लागि सीपमुलक तालिमका लागि ४ लाखको बजेटमा ३ लाख ९८ हजार ३ सय २५ रुपैयाँ भुक्तानी लिएको, वडा नं. ९ अन्तर्गत स्ट्रिट लाइट जडानका लागि ८ लाखमा ७ लाख ९२ हजार ९ सय २१ रुपैयाँ भुक्तानी लिएको, वडा कार्यालय संचालन खर्च, मसलन्द, फर्निचर, इन्धन तथा सवारी ममर्तका लागि साढे चार लाखको बिल भरपाइ पेस गरेको १ लाख ७८ हजार भुक्तानी लिएको तर काम नगरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

त्यस्तै, वडा ९ मा २ इन्चको कृषि पम्पिङसेटका लागि छुट्टयाइएको ५ लाखमा ४ लाख ८५ हजार ३२ रुपैयाँ भुक्तानी लिएको, विद्यार्थीहरुका सिकाइ उपलब्धिको लागि श्री रामजानकी आधारभुत विद्यालय कटरैत तथा आधारभुत विद्यालय अन्दुपट्टिको लागि शैक्षिक सामग्री तथा पोशाक वितरण नगरी ९ लाख ९६ हजार ६ सय ६० रुपैयाँ भुक्तानी लिएको पनि उजुरी गरेकाे थियाे ।

यसैगरी,वडा नं. ९ अन्तर्गत खानेपानीका लागि ह्याण्डपाइप जडान तथा खरिदका लागि छुट्टयाइएको १० लाख मा ९ लाख ६६ हजार ७ सय ५१ रुपैयाँ भुक्तानी लिएको स्थानीय चन्द्रदीपकुमार यादव र धर्मनाथकुमार यादवले दिएको निवेदनमा उल्लेख गरिएको छ । पेस गरिएको सो निवेदनमा दुवै आधारभुत विद्यालयले यस विद्यालयमा कुनै पोशाक वितरण नभएको र सो वडाका ज्येष्ठ नागरिकहरुले सम्मान नपाएको सही छाप गरिएको आधार पेस गरिएको छ ।

प्रकाशित : २८ श्रावण २०८०, आईतवार १५:२२