तीन कम्पनीको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

तीन कम्पनीको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच?



काठमाडौं। आइतबार घोराही सिमेन्ट, थ्रीस्टार हाइड्रोपावर र अप्पर साँङ्गे हाइड्रोपावरको पहिलो कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको ओपनिङ रेन्जभित्र आज स्पेसल प्रि–ओपनमा यी तीन वटैको सेयर किनबेच भएसँगै नियमित सेसनका लागि कारोबार खुलेको हो।

प्रि–सेसनमा घोराही सिमेन्ट प्रतिकित्ता ५६५ रुपैयाँ, थ्रीस्टार हाइड्रोपावरको २५५ रुपैयाँ र अप्पर साङ्गेको २५३.६० रुपैयाँमा कारोबार भएको छ। यी तीनै कम्पनीको आईपीओ गत बिहीबार नेप्सेमा सूचीकृत भएका थिए। नेप्सेमा घोराही सिमेन्टको कुल ३ करोड ९७ लाख १९ हजार ६ कित्ता सेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारण सेयरधनी (विदेशमा रहेका नेपाली श्रमिक, उद्योग प्रभावित स्थानीय, सामूहिक लगानी कोष र कर्मचारीसमेत) को ७९ लाख ४३ हजार ८०१ कित्ता (२० प्रतिशत) र संस्थापक सेयरधनीको ३ करोड १७ लाख ७५ हजार २०५ कित्ता (८० प्रतिशत) रहेको छ।

नेप्सेले घोराही सिमेन्टलाई ‘जीसीआईएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने यो कम्पनीले प्रतिकित्ता न्यूनतममा २२६.६१ रुपैयाँदेखि अधिकतममा ६७९.८३ रुपैयाँसम्म ओपनिङ रेन्ज पाएको थियो।

यसैगरी नेप्सेमा थ्रीस्टार हाइड्रोपावरको कुल ३९ लाख २५ हजार कित्ता सेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारण सेयरधनी (विदेशमा रहेका नेपाली श्रमिक, स्थानीय, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को १२ लाख ३१ हजार २५० कित्ता (२५ प्रतिशत) र संस्थापक सेयरधनीको ३६ लाख ९३ हजार ७५० कित्ता (७५ प्रतिशत) रहेको छ।

नेप्सेले थ्रीस्टारलाई ‘टीएसएचएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने यो कम्पनीले प्रतिकित्ता न्यूनतममा ८५.६५ रुपैयाँदेखि अधिकतममा २५६.९५ रुपैयाँसम्म ओपनिङ रेन्ज पाएको थियो। त्यस्तै नेप्सेमा अप्पर साङ्गे हाइड्रोपावरको कुल २२ लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारण सेयरधनी (विदेशमा रहेका नेपाली श्रमिक, उद्योग प्रभावित स्थानीय, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को ८ लाख ७० हजार ८०१ कित्ता (३९.५५ प्रतिशत) र संस्थापक सेयरधनीको ३ करोड १३ लाख ३० हजार कित्ता (६०.४५ प्रतिशत) रहेको छ।

नेप्सेले अप्पर साङ्गेलाई ‘यूएसएचएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने यो कम्पनीले प्रतिकित्ता न्यूनतममा ८४.५४ रुपैयाँदेखि अधिकतममा २५३.६२ रुपैयाँसम्म ओपनिङ रेन्ज पाएको थियो।

प्रकाशित : २८ श्रावण २०८०, आईतवार ११:३२