डा.शर्मा पक्राउ प्रकरणः नेताहरुको चर्को विरोध, थुनामा राख्न अस्वीकार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

डा.शर्मा पक्राउ प्रकरणः नेताहरुको चर्को विरोध, थुनामा राख्न अस्वीकार



काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको नक्कली शैक्षिक प्रमाण पत्रको आरोपमा नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मा पक्राउ प्रकरणले राजनीति गर्माएको छ ।

अवैध सुन प्रकरणका मुख्य आरोपीलाई समातेर कारबाही गर्न माग गर्दै गृहमन्त्री र अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने भन्दै संसदमै जोड दिएका शर्मा एकाएक विहीबार पक्राउ परेका थिए । उनीसँग अन्य आठ जना डाक्टर पक्राउ परिसकेका छन् । अपरेसन फक्सट्रट’ नाम दिएर सीआईबीले चलाएको अपरेसनमा बिहीबार दिउँसो प्रतिनिधि सभाका सांसद शर्मालाई पक्राउ गरेपछि राजनीतिक बृत्तमा विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेको छ ।

उनलाई शैक्षिक प्रमाणपत्रबारेमा पक्राउ गरिएको भनिए पनि अहिलेको मुद्दालाई कमजोर बनाउन पक्राउ परिएको भन्दै चर्को विरोध भइरहेको छ । सिआइबीले २०७३ मा नक्कली प्रमाण पत्रको आधारमा चिकित्सक बनेकाहरूबारे विशेष क्वाक अप्रेशन चलाएको थियो।

त्यही बेलामा शर्माको आइएस्सी प्रमाण–पत्रमा कैफियत देखिएपछि प्रहरीले उनलाई खोजेको थियो। शर्माले भारतबाट लिएको आइएस्सीको प्रमाण पत्र नक्कली भएको ब्युरोको अनुसन्धानमा देखिएपछि खोजी सुरु गरेको थियो।

शर्माको घटनाबारे शुक्रबार बसेको कांग्रेस संसदीय दलका बैठकमा बोल्ने अधिकांश सांसदहरुले शर्मालाई प्रतिशोध राखेर पक्राउ गरिएको बताएका छन् । संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा शुक्रबार बसेको संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदले नक्कली प्रमाणपत्रमा पक्राउ परेका शर्माको पक्षमा धारणा राखेका थिए ।

‘उहाँले यसभन्दा अघि केही मन्त्रीको राजीनामा माग्नुभयो, त्यही प्रतिशोधमा प्रधानमन्त्री, गृहमन्त्री हुनुहुन्छ’, सांसद श्याम घिमिरेले भने, ‘संसद चलिरहेको बेलामा सांसदलाई यसरी गिरफ्तार गर्नुपर्ने बाध्यता किन भयो ?’ । सांसद रामनाथ अधिकारीले पनि पार्टीका सांसद शर्मामाथि सरकारले पूर्वाग्रही र प्रतिशोंध राखेको बताए । पक्राउबारे एमालेका सांसदहरुले पनि आपत्ति जनाएका छन् । सुन कान्ड र ललिता निवास जग्गा प्रकरणलाई ओझेल पार्न शर्मालाई पक्राउ गर्नु आपत्तिजनक भएको उनीहरुको भनाइ छ ।

यता, वरिष्ठ अधिवक्ता यदुनाथ खनालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नककली सर्टिफिकेटको प्रकरणमा पक्राउ गर्न र मुद्दा चलाउन नसक्ने बताएका छन् । वरिष्ठ अधिवक्ता खनालले आफ्नो फेसबुकवालमा नक्कली सर्टिफिकेटको विषय अख्तियार दुरुपयोग अनुसनधान आयोगको क्षेत्राधिकारमा पर्ने दाबी गरेका छन् ।

कांग्रेसका सांसद चन्द्र भण्डारीले सुनील शर्मालाई पक्राउ गरिएकोप्रति आपत्ति जनाएका छन् । उनले शर्मालाई पक्राउ गरेर राज्यले प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाए ।

शुक्रबार पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भण्डारीले भने, “जसको शक्ति त्यसको भक्ति भन्ने अब चल्दैन । सुनील शर्मालाई थुन्नुपर्छ भन्ने छैन । मैले प्रधानमन्त्री र सीआईबी प्रमुखलाई यो गलत भयो भनिसकेको छु,” सांसद भण्डारीले भने, “तत्कालीन अवस्थामा नवराज सिलवालले त्यसलाई अघि नबढाउने भनिसकेका छन् । बन्द गरिसकेको कुरा फेरि निकालेर कसैसँग प्रतिशोध साँध्नु गलत हो ।”

पक्राउबारे चौतर्फी विरोध भरहँदा अदालतले शर्मालाई थुनामा राख्न म्याद थप गर्न अस्वीकार गरेको छ। काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश दन्डपाणी शर्माको इजलाशले शर्मालाई उनलाई थुनामुक्त गर्न आदेश दिएको हो।

थुनामा राख्नका लागि म्याद थप गर्न जाँदा इजलाशले यस्तो आदेश दिएको हो। न्यायाधीशले थुना बाहिर राखेर अनुसन्धान गर्न भनेका छन्। नक्कली प्रमाणपत्र प्रकरणमै पक्राउ परेका शर्माबाहेकका अन्य पाँच जनालाई भने अदालतले पाँच दिन हिरासतमा राख्न समय दिएको छ।

सिआइबीले २०७३ मा नक्कली प्रमाण पत्रको आधारमा चिकित्सक बनेकाहरूबारे विशेष क्वाक अप्रेशन चलाएको थियो। त्यही बेलामा शर्माको आइएस्सी प्रमाण–पत्रमा कैफियत देखिएपछि प्रहरीले उनलाई खोजेको थियो। शर्माले भारतबाट लिएको आइएस्सीको प्रमाण पत्र नक्कली भएको ब्युरोको अनुसन्धानमा देखिएपछि खोजी सुरु गरेको थियो। ब्युरोले मुख्यतः भारत र चीनको शैक्षिक प्रमाण पत्रको आधारमा चिकित्सक बनेकाहरूको शैक्षिक प्रमाण पत्र छानबिन गर्दै ४० बढी चिकित्सक पक्राउ गरेको थियो।

प्रकाशित : २६ श्रावण २०८०, शुक्रबार १८:३८