अरुण काबेलीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अरुण काबेलीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने



काठमाडाैं । अरुण काबेली पावरले भदौ ८ गतेदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ ।

उक्त हकप्रद सेयरको लागि यसले असार २५ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असार २४ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । अरुण काबेलीले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले भदौ २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता औसत सुरक्षित रहेको संकेत गर्दछ । यसको हकप्रद सेयरमा नबिल इन्भेष्टमेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्नेछ ।

हकप्रदमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र अरुण काबेलीको कार्यालय ट्रेड टावर थापाथलीबाट आवेदन दिन सकिनेछ । उक्त स्थानबाट आवेदन दिंदा चेकमात्र भुक्तानी हुने कम्पनीले जनाएको छ । साथै, हिमलयन र नबिल बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ ।

यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि यसको चुक्ता पुँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ पुग्नेछ ।

प्रकाशित : 10 August, 2023 7:59 am