उपदान तथा पेन्सन कोषको एक अर्ब १५ करोड लगानी गर्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

उपदान तथा पेन्सन कोषको एक अर्ब १५ करोड लगानी गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्ने भएको छ। बैंकले क वर्गका वाणिज्य बैंकहरुमा ९२ करोड, ख वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुमा १७ करोड २५ लाख र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीका लागि ५ करोड ७५ लाख गरी कुल एक अर्ब १५ करोड लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकले तोकिएका शर्तहरुमा रहेर बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिज चाहेको रकम तथा उक्त रकम लिनका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर २०८० भदौ ३ गतेदेखि २०८१ साल भलौ ३ गतेसम्म ३६६ दिनको मुद्ती निक्षेपको रुपमा लिन चाहेको रकमको विवरण खुलाएर २०८० साउन २५ गते बेलुका ७ बजेसम्म बोलकबोल पेश गर्न आव्हान गरेको छ ।

रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले संचालनमा आएको कम्तिमा दुई वर्ष पूरा गरेको हुनुपर्ने, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको हुनुपर्ने छ ।

यस्तै खुद तरल सम्पति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने, कर्जा, स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनु पर्ने लगायतका शर्तहरु रहेका छन् ।

प्रकाशित : २३ श्रावण २०८०, मंगलवार १३:२९