प्रिमियम मुल्यमा १ अर्ब २० करोड रुपैयाँ बराबरको आइपीओ आउँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रिमियम मुल्यमा १ अर्ब २० करोड रुपैयाँ बराबरको आइपीओ आउँदै



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्सुरेन्सले साउन २३ गतेदेखि प्रिमियम मुल्यमा आइपीओ निष्काशन गर्ने भएको छ। यसले वैदेशिक रोजगारीमा रहेकालाई आइपीओ बिक्री गरेपश्चात १ अर्ब २० करोड रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ रुपैयाँको दरमा १ करोड २० लाख कित्ता आइपीओ बिक्रीमा ल्याउन लागेको हो । यसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन भइसकेको छ । त्यस्तै, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अथवा ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

सर्वसाधारणले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्ताले यसमा साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ ५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी केयर नेपालले यस इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आइपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रकाशित : १५ श्रावण २०८०, सोमबार १२:०१