ओटीसी मार्केटमा भयो ८४ कम्पनीको पौने ३ अर्ब बढीको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ओटीसी मार्केटमा भयो ८४ कम्पनीको पौने ३ अर्ब बढीको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ओटिसी बजार मार्फत करिब ३ अर्बको सेयर कारोबार गरेको छ । गत आर्थिक वर्ष २०७९/८० को असारसम्ममा ८४ वटा कम्पनीको २ अर्ब ८५ करोड ८४ लाख १९ हजार ७८६ रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

यस अवधिमा २ करोड १२ लाख ६४ हजार ९५ कित्ता शेयर कारोबार भएको नेप्सेले जनाएको छ । यस्तै नेप्सेले ओटिसी बजार भएको कारोबारबाट ५ करोड २९ लाख ५५ हजार ९८० रुपैयाँ पूँजीगत लाभकर आर्जन गरेको जनाएको छ ।

नेप्सेले ओटिसी बजारको अवधारणाको विकास गरी २०६४ देखि सञ्चालन गर्दै आएको छ । २०७२ माघ १८ गतेदेखि कम्पनी रजिष्ट्रारको कार्यालयको सूचना अनुसार नेप्सेमा सूचीकरण नभएका कम्पनी, सूचीकरण खारेज भएका कम्पनी तथा सूचीकरणका लागि आवश्यक शर्तहरु पुरा हुन नसकी सूचीकरण हुन नसकेका पब्लिक कम्पनीहरुको शेयरको कारोबार तथा नामसारी ओटिसी बजार मार्फत गर्न सकिने व्यवस्था छ । हाल नेप्सेमा २०६ वटा कम्पनी ओटीसी मार्केटमा दर्ता छन्।

प्रकाशित : ५ श्रावण २०८०, शुक्रबार १५:३२