नयाँ आर्थिक वर्ष सुरु: यस्ता छन् आजदेखि लागू हुने नयाँ कर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नयाँ आर्थिक वर्ष सुरु: यस्ता छन् आजदेखि लागू हुने नयाँ कर



काठमाडौं । आज २०८० साउन १ गतेबाट नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले घोषणा गरेका विभिन्न कर सम्बन्धी व्यवस्था कार्यान्वयनमा आएका छन् । आयकर ऐन २०५८ मा सरकारले गरेको संशोधित व्यवस्था अनुसार आज साउन १ गतेदेखि वार्षिक ५० लाख रुपैयाँभन्दा बढी कमाउनेलाई ३९ प्रतिशत आयकर लाग्ने छ । यसअघि वार्षिक २० लाख रुपैयाँभन्दा माथि कमाउनेहरुलाई ३६ प्रतिशत आयकर लाग्ने गरेको थियो ।

आजदेखि विलासिता शुल्क, वैदेशिक पर्यटन शुल्क, वैदेशिक रोजगार सेवा शुल्क र हवाई यातायात सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयनमा आएको छ।

सरकारले पाँचतारे वा सोभन्दा माथिका होटेल, रेस्टुरेन्ट तथा रिसोर्टहरुले प्रदान गर्ने सेवामा २ प्रतिशत विलासिता कर लगाएको छ । साथै सरकारले १० लाखभन्दा बढीको बहुमूल्य धातुमा पनि २ प्रतिशतकै दरले विलासिता शुल्क लगाएको छ ।

सरकारले आयातित मदिरा र १० लाख रुपैयाँभन्दा बढी मूल्यका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गहनामा समेत सोही दरमा कर लागु हुने बजेटमा उल्लेख छ । यस्तो कर होटल तथा रिसोर्टले सेवा प्रदान गरेको बेला नै असुल गर्नुपर्ने भएको छ । आयातित मदिराको भन्सार विन्दुमै पैठारीका बेला असुली हुनेछ भने १० लाखभन्दा बढीका धातुका गहना बिक्रेताले असुल गर्नुपर्ने छ ।

यस्ता कर नतिरेमा विलासिता शुल्क बापत सङ्कलन गरेको रकम अर्को महिनाको पच्चीस गतेभित्र राजस्व खातामा जम्मा गरी सोको विवरण सहितको जानकारी सम्बन्धित राजस्व कार्यालयमा पठाउनु पर्नेछ । कुनै व्यक्तिले विलासिता शुल्क बापतको रकम दाखिल नगरेमा वार्षिक पन्ध्र प्रतिशतका दरले ब्याज लगाई असुल गरिनेछ।

कुनै व्यक्तिले विवरण पेश नगरेमा त्यस्तो व्यक्तिलाई विवरण पेश गर्नु पर्ने मितिबाट यस्तो विवरण दाखिला नभएको मितिसम्मको वार्षिक दुई दशमलव पाँच प्रतिशतका दरले हुने रकम शुल्क लाग्नेछ। विलासिता शुल्क बापतको रकम असुल नगरेमा सो रकमको पच्चीस प्रतिशत शुल्क लाग्नेछ।

त्यस्तै दफा २२ मा वैदेशिक पर्यटन शुल्कको व्यवस्था गरिएको छ । जस अनुसार विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लगाई असुल गरिनेछ। वैदेशिक भ्रमणको प्याकेज बिक्रेताले प्याकेज बिक्रीको बखत, र वैदेशिक फर्म वा कम्पनीले व्यवसाय प्रवर्द्धनका सिलसिलामा आफू सम्बद्ध प्राकृतिक व्यक्तिलाई भ्रमणमा लैजादा लाग्ने खर्च लेखाङ्कनका बखत वैदेशिक पर्यटन शुल्क लगाई असुल गर्नु पर्नेछ।


त्यस्तै दफा २३ को वैदेशिक रोजगार सेवा शुल्कबारे व्यवस्था छ । जस अनुसार प्रचलित सङ्घीय कानून बमोजिम वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतप्राप्त व्यक्तिले वैदेशिक रोजगारमा जाने व्यक्तिबाट असुल गरेको रकमबाट एक प्रतिशतका दरले वैदेशिक रोजगार सेवा शुल्क दाखिल गर्नु पर्नेछ। त्यस्तो रकम वैदेशिक रोजगारमा जाने व्यक्तिको हितमा खर्च गरिनेछ। यस्तो रकम अर्को महिनाको पच्चीस गतेभित्र राजस्व खातामा जम्मा गरी सोको विवरण सहितको जानकारी सम्बन्धित राजस्व कार्यालयमा पठाउनु पर्नेछ। सो अवधिभित्र त्यस्तो शुल्क दाखिल नगरेमा वार्षिक पन्ध्र प्रतिशतका दरले ब्याज लगाई असुल गरिनेछ।

त्यस्तै आजबाट हवाई यातायात सेवामा मूल्य अभिवृद्धि कर लाग्ने छ । हवाई यातायात उपभोग गर्दा आफ्नो टिकटको मूल्यमा नै यो कर समावेश भएर आउने छ । यसले हवाई यात्रा केहि महँगो बनाउने छ ।

प्रकाशित : १ श्रावण २०८०, सोमबार १२:११