एडिबीद्वारा बंगलादेशलाई ३० करोड अमेरिकी डलर ऋण स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एडिबीद्वारा बंगलादेशलाई ३० करोड अमेरिकी डलर ऋण स्वीकृत



एजेन्सी । एसियाली विकास बैंक (एडिबी) ले बंगलादेशका ८८ वटा नगरपालिकाको जीवनस्तर उकास्न एकीकृत र दिगो सहरी विकास हासिल गर्न ३० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको जनाएको छ ।

मनिलास्थित बैंकले ‘सहरी सुशासन र पूर्वाधारमा सुधार’ कार्यक्रमको उद्देश्य सहरी प्रशासनलाई सुदृढ पार्नु र नगरपालिका सेवाहरूको सुधारिएको सेवा वितरणका लागि पूँजी लगानी प्रदान गर्नु रहेको जनाएको छ ।

एडिबीले यो ऋणले सहरी सुशासन सुधार कार्ययोजना तयार गरी कार्यान्वयन गर्न तथा अनुगमन तथा मूल्यांकन प्रणालीलाई डिजिटल प्रणालीमा लान सहयोग पुग्ने जनाएको छ ।

यस ऋणले महिलाको नेतृत्वदायी भूमिकालाई बढावा दिन, महिला तथा जोखिममा परेकाहरूको विशिष्ट आवश्यकतालाई सम्बोधन गर्न, बजेट विनियोजनमार्फत समानताको खोजी गर्न योगदान गर्ने बताइएको छ ।

ऋण सहयोगले जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न, सामाजिक रूपमा समावेशी सार्वजनिक स्थान र सुविधाहरूमा दिशानिर्देशहरू अपनाउने विशिष्ट कार्यहरूमा योगदान गर्ने एडिबीले जनाएको छ ।

प्रकाशित : २९ असार २०८०, शुक्रबार १२:५४