आर्थिक बर्ष सकिन ११ दिन बाँकी रहदाँ सरकारकाे खर्च १२ खर्ब ९१ अर्ब ४६ करोड, पुँजीगत खर्च कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

आर्थिक बर्ष सकिन ११ दिन बाँकी रहदाँ सरकारकाे खर्च १२ खर्ब ९१ अर्ब ४६ करोड, पुँजीगत खर्च कति ?



काठमाडौं । आर्थिक वर्ष २०७९/८० को करिब अन्त्यसम्ममा राजस्व र खर्च दुवैको लक्ष्य भेट्न सरकार असफल भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार यो अवधिसम्म ७१.९९ प्रतिशत कुल बजेट खर्च र राजस्व लक्ष्यको ६२.६८ प्रतिशत मात्र संकलन भएको हाे ।

पुँजीगत खर्च ४६‍.४१ प्रतिशतमा सीमित भयो । चालु खर्च ८०.८३ प्रतिशत प्रगति भयो । वित्तीय व्यवस्थातर्फको प्रगति ६८.८९ प्रतिशतमा सीमित भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकमा उल्लेख छ ।

तथ्यांकअनुसार चालु आ.व. २०७९/८० मा सरकारले कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । यो बजेटबाट चालु आ. व. सकिन ११ दिन बाकी रहदाँ खर्च भने १२ खर्ब ९१ अर्ब ४६ करोड ८० लाख रुपैयाँ मात्र भएको छ ।

यो वर्ष सरकारले चालु प्रकृतिको खर्चका लागि ११ खर्ब ८३ अर्ब २३ करोड रुपैयाँ छुट्याएको थियो । यो सरकारको अनिवार्य दायित्व (तलव भत्ता, सामाजिक सुरक्षा, स्थानीय तथा प्रदेशमा जाने अनुदान) सहितको रकम हो । यसबाट खर्च प्रगति भने ९ खर्ब ५६ अर्ब ३५ करोड रुपैयाँ ९८०.८३ प्रतिशत मात्र भएको छ ।

विकास निर्माणका काममा खर्च हुने पूँजीगत प्रकृतिको खर्चतर्फ भने सरकारले यो वर्ष ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख रुपैयाँको लक्ष्य राखेको थियो । प्रगति भने मात्र १ खर्ब ७६ अर्ब ५२ करोड २० लाख रुपैयाँ भएको छ । यो कुल लक्ष्यको ४६.४१ प्रतिशत हो ।

नेपाल सरकारले विभिन्न सार्वजनिक संस्थानमा गर्ने लगानी वित्तीय व्यवस्थातर्फको खर्च समेत लक्ष्यको दुई तिहाइको हाराहारीमा मात्र भएको छ । यो वर्ष २ खर्ब ३० अर्ब २१ करोड ७७ लाख रुपैयाँ वित्तीय व्यवस्थामा खर्च हुने लक्ष्य राखिएकोमा प्रगति भने १ खर्ब ५८ अर्ब ५८ करोड ९६ लाख रुपैयाँ खर्च भएको छ । यो कुल लक्ष्यको ६८.८९ प्रतिशत हो ।

असार २० गते सम्म कति भयो खर्च ?

जेठ मसान्तसम्म ११ खर्ब ७६ अर्ब खर्च भएको थियो । असार २० सम्म मात्रै १ खर्ब १५ अर्ब ४० करोड खर्च भएको छ । जेठ मसान्तसम्म १ खर्ब ५३ अर्ब रहेको विकास खर्च १ खर्ब ७६ अर्ब पुगेको हो । असार २० सम्ममा मात्रै २३ अर्ब ४३ करोड विकास खर्च भएको छ । कुल विकासको ६.२ प्रतिशत विकास खर्च यस अवधिसम्म भएको छ ।

८ खर्ब ७१ अर्ब ५० करोड उठ्यो राजस्व

असार २० गते सम्म राजस्व संकलन ६२.११ प्रतिशत उठ्न सफल भयो । सरकारले चालु आवको बजेट ल्याउने समयमा अपेक्षीत राजस्व उठ्ने लक्ष्य पुरा नहुने सम्भावना प्रवल देखिएको छ ।

असारको यस अवधिसम्म आइपुदाँ कुल ८ खर्ब ७१अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन गरेको छ । संकलित राजस्वमध्ये कर राजस्व ७ खर्ब ९० अर्ब ९५ करोड रुपैयाँ रहेको छ ।

गैरकर राजस्व भने लक्ष्यभन्दा केहि मात्र कम उठेको छ । गैरकर राजस्व ८० अर्ब ५५ करोड मात्र उठेको छ । यो कुल लक्ष्यको ७४.७५ प्रतिशत हो । सरकारले यो वर्ष अनुदान प्राप्तीमा समेत उल्लेख्य सफलता पाएन ।

कुल ५५ अर्ब ४५ करोड रुपैयाँ अनुदान आउने लक्ष्य राखिएकोमा प्राप्ति भने मात्र ४ अर्ब ८० करोड रुपैयाँ मात्रै छ । यो लक्ष्यको ८.६६ प्रतिशत हो ।

प्रकाशित : २१ असार २०८०, बिहीबार १४:३१