काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोडको बजेट (पूर्णपाठ) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोडको बजेट (पूर्णपाठ)



काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार आयोजित महानगरको १३ औं नगरसभामा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट सार्वजनिक गरेकी हुन् ।

उनले कुल बजेटको चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजना गरेकी छन् । त्यस्तै, चालुतर्फ कुल बजेटको ३३.७२ र पुँजीगततर्फ ६६.२८ प्रतिशत बजेट छुट्याइएको छ ।

महानगरको बैंक मौज्दान ११ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । त्यस्तै संघीय सरकार र प्रदेश सरकारको सशर्त अनुदान १ अर्ब ४५ करोड ६२ लाख, निशर्त अनुदान ८९ करोड ३६ लाख, आन्तरिक आय ६ अर्ब ३९ करोड, राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड रुपैयाँ र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब रुपैयाँ प्राप्त हुने उपमेयर डंगोलले जानकारी दिइन् ।

महानगरपालिकाले १० विषयगत क्षेत्रका महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै महानगर स्वर्णिम योजना अन्तर्गत २५ वटा विषयगत क्षेत्रका योजनाका लागि २ अर्ब विनियोजन गरिएको छ ।

वडाबाट प्राप्त योजनालाई प्राथमिकताप्राप्त योजनामा राखी त्यसका लागि १ अर्ब ७६ करोड रुपैयाँ विनियोजना गरिएको छ ।महानगरपालिकाले सबैभन्दा धेरै शिक्षा क्षेत्रमा ७ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै शिक्षा क्षेत्रमा १ अर्ब ३२ करोड ९ लाख ३३ हजार र स्वास्थ्य क्षेत्रका लागि ९२ करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रकाशित : १० असार २०८०, आईतवार १३:४५