डिजिटल कारोबार: मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड कट्यो,वालेटमा उस्तै आकर्षण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

डिजिटल कारोबार: मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड कट्यो,वालेटमा उस्तै आकर्षण



काठमाडौं । पछिल्लो समय डिजिटल (अनलाइन) वित्तीय कारोबार व्यापक रुपमा बढिरहेको छ । भुक्तानीका साधन मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङसँगै विविध भुक्तानीका साधनहरू वालेट, कनेक्ट आइपीएस, डेबिट, क्रेडिट कार्डको प्रयोग बढेको हो ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको वैशाख महिनासम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ७ लाख ६३ हजार ३४६ पुगेको छ। यो संख्या अघिल्लो वर्षको यही अवधिको तुलनामा १७.४६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा यस्तो संख्या १ करोड ७६ लाख ७६ हजार २५९ थियो।

यसैगरी समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा करिब साढे १२.२७ प्रतिशतले इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या बढेको छ। अघिल्लो वर्ष यही अवधिमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १६ लाख ६ हजार ८२९ रहेकोमा समीक्षा अवधिमा बढेर १८ लाख ३ हजार ६५ पुगेको छ। वालेट प्रयाेगकर्ताहरु पनि १ कराेड ८२ लाख २९ हजार १ सय २५ पुगेका छन् ।

समीक्षा अवधिमा मोबाइल बैंकिङमार्फत कुल २ खर्ब १० अर्ब १ करोड रुपैयाँबराबरको भुक्तानी (ट्रान्जेक्सन) भएको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो भुक्तानी १ खर्ब १३ अर्ब ६७ करोड ९० लाख रुपैयाँको हाराहारीमा भएको थियो। यो हिसाबले मोबाइल बैंकिङ हुने भुक्तानी समीक्षा अवधिमा ८४.८३ प्रतिशतले बढेको छ।

यसैगरी समीक्षा अवधिमा इन्टरनेट बैंकिङमार्फत १३ अर्ब ४५ करोड १० लाख रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो कारोबार ११ अर्ब ९१ करोड ७० लाख रुपैयाँबराबरको भएको थियो।

समीक्षा अवधिमा डेबिट तथा क्रेडिट कार्डमार्फत क्रमशः ८७ अर्ब ३८ करोड ५० लाख रुपैयाँ र १ अर्ब ५९ करोड १० लाख रुपैयाँको कारोबार भएको छ भने भुक्तानीको साधन कनेक्ट/आईपीएसमार्फत ३ खर्ब ५९ अर्ब ५२ करोड ८० लाख रुपैयाँ, वालेट मार्फत १९ अर्ब २५ कराेड ५० लाख रुपैयाबराबरको भुक्तानी भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

यसैगरी समीक्षा अवधिमा क्यूआरमार्फत २६ अर्ब ५ करोड १० लाख रुपैयाँबराबरको भुक्तानी भएको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो भुक्तानी १० अर्ब १९ करोड १० लाख रुपैयाँबराबरको मात्रै भएको थियो।

प्रकाशित : २८ जेष्ठ २०८०, आईतवार १४:०३