काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले पुँजीबजारको विकास र विस्तारका लागि ठोस र रणनीतिक निर्णय लिन ढिला गर्न नहुने बताएका छन् । प्रतिनिधिसभामा मंगलबार सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै सांसद गिरीले यस्तो बताएका हुन् ।
पुँजी निर्माणमा पुँजीबजारको भूमिका भूल्न हुँदैन । बजारमा लगानीयोग्य रकम छैन। त्यो रकम खोजेर सरकारले पठाउन ढिला भयो’,उनले भने, ‘तत्काल बैंकिङ च्यानलमा पैसा पठाऔँ। त्यसका लागि सरकारले ठोस योजना बनाउनुपर्छ।’
अहिलेको मुख्य समस्या सबैले ब्याजदर रहेको भने पनि आफुलाई त्यस्तो नलागेको बताउदै उनले भने, ‘ब्याजदर विगतमा पनि २० प्रतिशतसम्म पुगेको थियो। तर बजारमा शून्यता थिएन। अहिलेको सबैभन्दा ठूलो समस्या आमनागरिकले गुमाएको ‘कन्फिडेन्ट’ हो। पैसा कमाएर खर्च गर्दा फरक पर्दैन भन्ने कन्फिडेन्ट नागरिकमा फर्काउन सक्नुपर्छ।’ ‘
जग्गा र व्यक्तिगत घर कर्जालाई छुट्टाऔँ। घर बनाउने मानिसलाई केही कम ब्याजदरमा कर्जा पाउने आधार तयार गरौँ’, गिरीले भने, ‘यसले हाम्रा उत्पादनमूलक उद्योग चल्छन्। नागरिकले खर्च गर्न थाल्छन्। यसले बजार चलायमान हुन्छ।’
यहीँ उत्पादन हुने वस्तुको आयातलाई निरुत्साहन गर्दै उत्पादन वृद्धिमा जोड दिनुपर्ने गिरीले सरकारलाई सुझाव दिए। ‘स्वदेशी वस्तु २० प्रतिशतसम्म महँगो भए पनि सरकारले प्रयोग गर्ने नीति लिएको छ’, उनले भने, ‘यसले देशको औद्योगिक विकासमा सहयोग पुग्छ।’






Comment