लाइसेन्स वितरण प्रक्रियाको भइरहेको विरोधमा धितोपत्र बोर्डको गम्भीर ध्यानाकर्षण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लाइसेन्स वितरण प्रक्रियाको भइरहेको विरोधमा धितोपत्र बोर्डको गम्भीर ध्यानाकर्षण



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ ब्रोकर (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) लाइसेन्स वितरण प्रक्रियाको भइरहेको विरोधमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। धितोपत्र बोर्डले एक विज्ञप्ति जारी गर्दै केही संस्थाहरुले धितोपत्र दलाल व्यवसायलाई प्रतिस्पर्धी हुन नदिई सधैँ सीमित व्यवसायीको घेराभित्र राख्ने कुण्ठित मनसायबाट प्रेरित भई बोर्डको यो कार्यको विरोध गरेको जनाएको छ।

‘धितोपत्र बोर्डलाई विभिन्न प्रकारका आधारहीन, कपोकल्पित आरोपहरु लगाइएकोमा बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ। धितोपत्र बोर्डले पछिल्लो समयमा समग्र धितोपत्र बजार विकास तथा विस्तारमा निरन्तर पहलकदमी लिइरहेको सन्दर्भमा आफ्नो न्यूनतम व्यावसायिक मर्यादालाई समेत कायम नराखी निश्चित आत्मकेन्द्रित स्वार्थ प्रेरित विज्ञप्ति प्रकाशित गरी समग्र बजार विकासमा बाधा पुर्याउन भएको प्रयासप्रति खेद व्यक्त गरेको छ।

‘यसका साथै लगानीकर्ताको हकहित संरक्षण र बजार विकास तथा विस्तारका लागि धितोपत्र बोर्डले आगामी दिनहरुमा समेत खुला प्रगतिशील नीतिहरु तर्जुमा गरी कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

धितोपत्र बोर्डमा नयाँ ब्रोकर लाइसेन्सका लागि कुल ४६ वटा आवेदन परेको थियो। तीमध्ये ४१ वटा सीमित कार्य गर्ने धितोपत्र दलाल, ४ पूर्ण कार्य गर्ने धितोपत्र दलाल र एउटा धितोपत्र व्यापारीका लागि आवेदन परेको थियो।

धितोपत्र बोर्डले सम्पूर्ण आवेदनहरु अध्ययन गरी तीमध्ये ४३ वटै कम्पनीलाई आवश्यक पूर्वाधार तयार गर्न आशयपत्र ९एलओआई० प्रदान गरिसकेको छ। जसमा १२ वटा वाणिज्य बैंकका सहायक कम्पनी र ३१ वटा अन्य संस्था छन्।

प्रकाशित : २ जेष्ठ २०८०, मंगलवार ११:३८