मोदी इनर्जीको आइपीओ बाँडफाँट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मोदी इनर्जीको आइपीओ बाँडफाँट



काठमाडौं । मोदी इनर्जीको आइपीओ वैशाख ३१ गते आइतबार बाँडफाँट भएको छ । कम्पनीले कर्मचारीले आवेदन नदिएको सेयरसमेत थप गरेर सर्वसाधारणलाई ५६ लाख १२ हजार २६० कित्ता सेयर बाँडफाँट गरेको हो ।

यसमा ५ लाख ६१ हजार २२६ जना आवेदकहरुले १० कित्ताका दरले सेयर पाएका छन् । यस आइपीओमा कुल १२ लाख ३६ हजार २६९ जना आवेदकले आवेदन दिएकामा ६ हजार ५२८ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ ।

मोदीले वैशाख १९ गतेदेखि २४ गतेसम्म ३ लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोष र १ लाख २८ हजार ९१० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरी सर्वसाधारणका लागि ५५ लाख ५९ हजार ४२० कित्ता सेयर निष्कासन गरेको थियो ।

कुल ७२ लाख ५० हजार कित्ता आइपीओमध्ये २९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई यसअघि नै बाँडफाँट गरिसकेको थियो ।

लगानीकर्ताले आइपीओको नतिजा बिक्री प्रबन्धक सनराइज क्यापिटल र मोदी इनर्जीको वेबसाइटबाट हेर्न सकिनेछ । साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट थाहा पाउन सकिन्छ ।

प्रकाशित : ३१ बैशाख २०८०, आईतवार १२:०१