पुँजीबजारमा एनआरएन भित्र्याउने धितोपत्र बोर्डको तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

पुँजीबजारमा एनआरएन भित्र्याउने धितोपत्र बोर्डको तयारी



काठमाडौं । नेपाल धितोपत्र बोर्डले दोस्रो बजार कारोबारमा गैर आवासिय नेपाली (एनआरएन) लाई भित्र्याउन अध्ययन समिति गठन गरेको छ । बोर्डले गत चैत १९ गतेको संचालक बोर्डको निर्णयबाट नेपाल धितोपत्र बोर्डमा नेपाल चार्टड एकाउन्टेन्ट संस्थाबाट प्रतिनिधित्व गर्ने संचालक सुजन कुमार काफ्लेको संयोजकत्वमा एक समिति गठन गरेका हो ।

धितोपत्र दोस्रो बजारमा प्रोत्साहन गर्न प्रचलित कानून बमोजिम आवश्यक व्यवस्था गर्नका लागि अध्ययन प्रतिवेदन सहित नियमावलीको मस्यौदा तयार गर्ने अध्ययन समितिको उद्देश्य रहेको बोर्डले स्पष्ट गरेको छ ।

उक्त समितिका अन्य सदस्यहरूमा संचालक बोर्डका विज्ञ सदस्य भोला ढुङ्गाना, बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सदस्य सचिवमा बोर्डको उपकार्यकारी निर्देशक दीपा दाहाल रहेका छन ।

उक्त समितिले तीन महिना भित्र गैर आवासिय नेपालीलाई नेपालको पूँजी बजारमा भित्र्याउन आवश्यक नियमावली तर्जुमा गरी संचालक बोर्डमा पेश गर्ने जनाएको छ । यसका साथैं उक्त समितिले उक्त नियमावली कार्यान्वयनका हुनसक्ने कठिनाई पहिचान गरी सोका लागि आवश्यक कार्यविधि समेत सिफारिस गर्नेछ ।

यसरी प्रस्तावित नियमावलीको कार्यान्वयन पश्चात धितोपत्र बजारमा लगानीकर्ताको संख्या वृद्धि भई तरलता समेत अभिवृद्धि हुने, धितोपत्र बजारको माग पक्ष बलियो हुने, बजारको अस्थिरता कम भइ मूल्य जोखिम कम हुने लगायतका सुधार पूँजी बजारमा हुने बोर्डले अपेक्षा गरेको छ ।

प्रकाशित : 9 May, 2023 6:10 pm