तीन बीमा कम्पनी मर्ज भएर बनेको ‘हिमालयन लाइफ’ इन्स्योरेन्सको एकीकृृत कारोबार सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

तीन बीमा कम्पनी मर्ज भएर बनेको ‘हिमालयन लाइफ’ इन्स्योरेन्सको एकीकृृत कारोबार सुरु



काठमाडौं । ‘हिमालयन लाइफ इन्स्योरेन्स’ले मंगलबारदेखि एकीकृृत कारोबार सुरु गरेको छ । बीमा क्षेत्रको सर्वाधिक ठूलो मर्जर सम्पन्न भएसँगै ‘हिमालयन लाइफ इन्स्योरेन्स’को नाममा एकिकृत कारोबार सुरू भएको हो ।

तीन जीवन बीमा कम्पनीहरु प्राइम, यूनियन र गुराँस लाइफ इन्स्योरेन्स मर्जर भई आजदेखि ‘हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड’ नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् । तीन कम्पनी १ः१ः१ को समान हैसियतमा एक आपसमा गाभिएका हुन् । गत वर्षको बैशाख २९ गते मर्जर सम्झौता गरेका तीन कम्पनीहरुले एक वर्षपछि एकीकृत कारोबार थालेका हुन् । संयुक्त मर्जर कमिटीले २०७९ माघ १ गते हिमालयन लाईफका नामबाट कारोबार गर्ने सम्झौता गरेका थिए ।

प्राइम, यूनियन र गुराँस लाइफ इन्स्योरेन्सएक भएसँगै चुक्ता पुँजीका आधारमा जीवन बीमा क्षेत्रकै दोस्रो ठूलो कम्पनी बनेको छ । एकीकृत संस्थाको चुक्ता पुँजी पौने ८ अर्ब कायम भएको छ । हिमालयन लाइफमा नेपालका ठूला व्यावसयीक घरानाहरु एकिकृत भएका छन् । राजेन्द्र खेतान, शंकर ग्रुप, शेखर गोल्छा, एमभी दुगड समुह हिमालयनमा जोडिएका छन् ।

यसअघि बैशाख ६ गते सम्पन्न भएको प्राइम र यूनियन लाइफले विशेष साधारण सभा तथा गुराँस लाइफको १३ औं वार्षिक साधारण सभा बाट मर्जरलाई अन्तिम रुप दिएको थियो । ती कम्पनीहरूले नेपाल बीमा प्राधिकरणबाट बैशाख १३ गते बराबर स्वाप रेसियो अर्थात १ः१ः१ मा मर्जरका लागि अन्तिम स्वीकृति पाएका थिए ।

यस्तै नेपाल धितोपत्र बोर्डले यो मर्जरलाई बैशाख १९ स्वीकृति दिएको थियो भने कम्पनी रजिष्ट्रार कार्यालयले बैशाख २० गते स्वीकृति दिएको थियो ।

प्रकाशित : २६ बैशाख २०८०, मंगलवार १३:५८