काठमाडौं । बर्षौदेखि रमणीय नेपाली भूमि सन्दकपुर देखाएर पर्यटनमार्फत भारतको दार्जिलिङले प्रशस्त आम्दानी गरिरहेको छ । लेकाली क्षेत्र सन्दकपुर सूर्योदय र सूर्यास्त मात्र होइन तीन देशका हिमाल आँखै अगाडि देखिन्छ । जसलाई दार्जिलिङले पर्यटनको अब्बल गन्तब्यका रुपमा विकास गर्दै मनग्गे आम्दानी गरिरहेको छ । तर अब सन्दकपुर गाउँपालिकाको अगुवाइमा नेपाल भारतसँग प्रतिस्पर्धा गर्ने अवस्थामा उत्रिएको छ ।
क्रियाशील पत्रकार सुजन तिम्सिनाले निर्माण गरेको सन्दकपुरको बृत्तचित्र ‘वि विल राइज फाउनडेसन’ले आयोजना गर्ने भिडियो च्यालेञ्ज प्रतियोगितामा उत्कृष्ट भएपछि सन्दकपुरले थप चर्चा पाएको हो । भिडियोमार्फत सन्दकपुरले चर्चा बटुलेसँगै पालिकाका प्रतिनिधि पर्यटनको प्रचार र प्रवद्र्धनमा उत्रिएका छन् । पत्रकार तिम्सिनाले नै तयार गरेको फोटो बुक बोकेर जनप्रतिनिधिहरु काठमाडौंमा दौडधुप गरिरहेका छन् ।
गाउँपालिकाका वडाध्यक्षहरु सनम राई, यज्ञबहादुर गुरुङ्ग, लिल बहादुर बुर्जा र पत्रकार तिम्सिनाले एक साता अघिदेखि पूर्वप्रधानमन्त्री, मन्त्रीहरू, पर्यटन व्यवसायी, पत्रकार साथै सरोकारवालाहरुलाई भेटेर सन्दकपुरको प्रवद्र्धन गरिरहेका छन् । जनप्रतिनिधिले सरकार र मातहतका निकायको ध्यानकर्षण गराएका छन् । साथै पत्रकार तिम्सिनाले कैद गरेका तस्विरहरु संग्रहित फोटो बुक उपहार दिइरहेका छन् ।
२ नम्बर वडाका अध्यक्ष सनम राई भन्छन्,‘सन्दकपुर चर्चा थियो तर नेपाली भूमिबाट पर्यटक न्यून मात्रमा पुग्ने गर्दथे । भारतीय बाटो प्रयोग गरेर गन्तब्यमा पुग्नुपर्ने विवशताको अन्त्य गर्दै अब हामी नयाँ रणनीतिका साथ काठमाडौंमा आएका हौं । कोशी प्रदेशको उत्कृष्ट गन्तब्यका रुपमा विकास गर्दै ट्रेकिङ हबका रुपमा सन्दकपुरलाई विकास गर्ने योजनामा छौं ।’ सन्दकपुरमा नयाँ ट्रेकिङ रुटको पनि विकास गरिएकाले सो को प्रचार गर्नु पनि मूल उद्देश्य रहेको उनले बताए ।
पाँचथर, इलाम र भारतको पश्चिम बंगाल राज्यको सीमावर्ती क्षेत्र सन्दकपुर इलाम सदरमुकामबाट ४५ किलोमिटर उत्तर ३ हजार ६ सय ३६ मिटर उचाइमा रहेको यहाँबाट ६० हिमाल एकसाथ अवलोकन गर्न सकिन्छ । केही साताअघि भब्य महोत्सवको आयोजना गरेपछि थप उत्साहित भएको स्थानीय सरकार पर्यटकीय क्षेत्र जोड्ने पदमार्ग निर्माण तथा पर्यटन पूर्वाधार पर्यटन विकासमा सक्रिय भएको हो ।
सोही सिलसिलामा काठमाडौं आएको टोलीले संघीय सरकार साथै सरोकारवालाहरुको ध्यानकर्षण गराएको छ । बजेट निर्माणको पूर्व सन्ध्यामा उनीहरुले सन्दकपुरलाई नीतिगतरुपमै सम्बोधन गर्न दबाब बढाएका छन् । उनीहरुले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसाल, इलाम–२ का सासंद सुवास नेम्बाङ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, शहरी विकास मन्त्री सीता गुरुङ, अर्थमन्त्री प्रकाशसरण महतलगायतसँग सरकारको बजेट र नीति तथा कार्यक्रममा सन्दकपुरलाई अनिवार्य समेट्न आग्रह गरिएको टोलीमा रहेका पत्रकार सुजन तिम्सिनाले जानकारी दिए । ‘सबैले सकरात्मक प्रतिक्रिया दिनुभएको छ । तदारुकता देखाउनुभएको छ, तर काम कस्तो गर्नुहुन्छ विस्तारै थाहा होला’, तिम्सिनाले भने ।
टोलीसँगको भेटमा विभिन्न निकायका प्रतिनिधिहरुले सन्दकपुरको प्रवद्र्धनमा सहकार्य गर्ने बचन समेत दिएका छन् । नेपाल पर्यटन बोर्डले रामसार क्षेत्र माइपोखरी हुँदै छिन्टापु–ढापपोखरी–सन्दकपुर जोड्ने पदमार्ग प्रवर्द्धनमा बोर्डले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल (टान)ले सहकार्य गर्ने जनाएको छ भने अर्थमन्त्री महतले सरकारले आगामि आर्थिक वर्षको बजेटबाट सम्बोधन गर्ने बताएका छन् ।
भारतीय सीमा क्षेत्रमा पर्ने सन्दकपुरमा भारतीय नागरिकका साथै तेस्रो मुलुकबाट पनि पर्यटक भित्रिने गरेका छन् । छिन्तापु, कालपोखरी, कैयाकट्टा, जौबारी, टप्पु, माबुथाम, हाँगेथाम जस्ता अग्ला थुम्काहरू पनि यहाँका आकर्षण हुन् । सन्दकपुर गाउँपालिकाभित्रै रेडपाण्डा पनि अवलोकन गर्न सकिन्छ ।
सन्दकपुर गाउँपालिकामा निर्माण भइरहेको रेडपाण्डा प्रजनन केन्द्र सञ्चालन, माइपोखरी–सन्दकपुर सडक स्तरोन्नति, सातखाल्डे खेलमैदान, गजाधर धनमाया रंगशाला निर्माणलगायतका योजनाबारे जानकारी गराउँदै टोलीले बजेट विनियोजनका लागि पहल गर्न पनि आग्रह गरेको छ । समुन्द्री सतहबाट ९ सयदेखि तीन हजार ६ सय ३६ मिटर उचाईसम्म फैलिएको छ । भारतीय पर्यटन नक्साको उत्कृष्ट १ नम्बरमा राखिएको सन्दकपुर सन्दक्फुबाट पनि चिनिन्छ ।
प्राकृतिक रमणियता सास्कृतिक विविधता, भौगोलिक विषमतायूक्त हावापानी र विविध जातिय संस्कृति हेर्न वर्षेनी हजारौं पर्यटक सन्दकपुर गाउँपालिका क्षेत्रका विभिन्न पर्यटकीयस्थलमा आउने गरेका छन् । सिंहलीला र महाभारत पर्वत श्रृंखलाबाट उत्पत्र दर्जनौ नदीला प्रणाली, विश्व सम्पदा सूचिमा सूचिकृत माईपोखरी रामसार, सिमसार क्षेत्र, लोपोन्मुख थुप्रै वन्यजन्तु, वनजंगलभरी हुलका हुल चराका बथान, वनस्पति, हिमश्रृखंला, छाँगा छहरा र यहाँका पौरखी किसानहरुले गरेका कृषि उत्पादन तथा पशुपालन व्यवसाय सन्दकपुर गाउँपालिको आकर्षणका केन्द्र रहेका छन् ।
Comment