काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले औद्योगिक क्षेत्रमा रहेको जग्गा तथा भवनको भाडामा उद्योगीमाथि अन्याय भइरहेको बताएका छन् । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको १८औँ वार्षिक साधारण सभा तथा १० औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
दशक पहिले स्थापित गौरवशाली औद्योगिक क्षेत्रहरू सार्नु पर्ने दबाब विभिन्न क्षेत्रबाट आउने गरेको भन्दै सरकारले तत्काल उचित निर्णय लिन आवश्यक रहेको उनले बताए । औद्योगिक क्षेत्रलाई दिगो रूपमा सञ्चालन हुने वातावरण नदिएर उद्योगीलाई र निजी क्षेत्रलाई हतोत्साहित गर्न नहुने उनको तर्क छ ।
कार्यक्रममा बोल्दै उनले भने, ‘सरकारले यस्ता विषयमा स्पष्ट दृष्टिकोण र निर्णय गरेर उद्योगी व्यवसायीको संरक्षण गर्नुपर्छ ।’ नेपालमा कुल ग्राहस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान अझै सीमित अवस्थामा रहेकाले यो बढाउने योजना आवश्यक रहेको उनको भनाइ छ ।
Comment