भूगोल इनर्जीको आईपीओ बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

भूगोल इनर्जीको आईपीओ बाँडफाँड



काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओ आज बाँडफाँड भएको छ। धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले आईपीओ बाँडफाँड गरेको हो।

यो कम्पनीले गत चैत २३ गतेदेखि चैत २७ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले जारी पुँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको २० प्रतिशतले १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको थियो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १० लाख ८८ हजार १०७ कित्ता आईपीओ जारी गरेको थियो।

कुल कित्तामध्ये १ लाख ८ हजार ८११ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि तथा कर्मचारीका लागि सुरक्षित गरी बाँडफाँट गरिसकेको थियो भने ७१ हजार ९१६ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो। बाँकी १३ लाख ४६ हजार ९९३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

यो आईपीओमा कुल १२ लाख ५४ हजार ६ वटा आवेदकबाट १ करोड ४० लाख ३० हजार ७३० कित्ता सेयर माग भएको थियो। कुल आवेदकमध्ये ११ लाख ४९ हजार १५१ आवेदकबाट परेको १ करोड २३ लाख ६४ हजार ८४० कित्ता सदर भएको छ भने बाँकी १ लाख ४ हजार ८५५ आवेदकबाट परेको १६ लाख ६५ हजार ८९० कित्ता रद्द तथा बदर भएका छन्।

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी १ लाख ३४ हजार ६९९ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। तिनै भाग्यमानीमध्ये ३ जनाले थप १–१ कित्ता सेयर पाएका छन्।

यो हिसाबले सदर आवेदकमध्ये १० लाख १४ हजार ४५२ आवेदकको हात खाली भएको छ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक र आईपीओ निष्कासन गर्ने कम्पनीको बेवसाइट तथा सीडीएससीको आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि हेर्न मिल्ने छ ।

प्रकाशित : ३ बैशाख २०८०, आईतवार १६:३७