काठमाडौं । पुँजी बजारका लागि २०७९ साल सुखद रहेन । यो बर्ष भरि नै पुँजी बजारले घट्दो गतिलाई मात्र निरन्तरता दियो। यो बर्ष नेपालको अर्थतन्त्र देखिएको समस्याका कारण पनि यसले गति लिन सकेन । जसले गर्दा बजार पनि सुस्त रहन पुग्यो । २०७९ सालको सुरुको दिनमामा २४७१.८१ अंकमा खुलेको बजार बर्षको अन्तिम दिनमा आईपुग्दा १९३४.४७ अंकमा झरेको छ । समग्रमा हेर्दा, २०७९ नेपाली पुँजी बजारको लागि खासै उत्साहजनक वर्ष रहेन ।
सुरुवातदेखि नै घटेको नेप्से परिसूचक अन्तिमसम्म पनि बढ्न सकेन । यस वर्षको सुरुवात हुनुभन्दा अघिदेखि नै सेयर बजार घट्ने क्रममा लागिसकेको थियो । विश्वव्यापीरुपमा फैलिएको कोरोनाको असर अनि रुस र युक्रेनबीच युद्धका कारण विश्व अर्थतन्त्रमा नै नकारात्मक असर पर्यो ।
यस बर्ष पुँजी बजारमा सूधार नदेखिएपनि थुपै नीति नियमका कामहरु भए जसले गर्दा लामो समयदेखि लागु हुदै आएका नीति नियममा परिर्वतन तथा नयाँ नियम निर्देशिका पनि लागु भए । यस बर्ष आर्थिक मन्दीले गर्दा व्याजदरमा बृद्धि, तरलता अभावबाट गुज्रिएको अर्थतन्त्रमा सेयर बजार सबैभन्दा बढी २५१०.१३ अंकमा कारोबार भएर सबैभन्दा कम १८११.३२ विन्दुमा झरेर पनि कारोबार भएको थियो ।
पछिल्लो समय पुँजीबजारमा सबै वर्गका मानिसहरु सक्रिय रुपमा लागेका छन् । अरु व्यापार व्यवसायमा भन्दा पुँजीबजारमा लगानी गरेर मनग्य आम्दानी गर्न सकिने सोचले धेरै जसो मानिसहरु पुँजी बजारमा आवद्ध भएका देखिन्छ । चार खर्ब १५ अर्ब ५७ करोड ५० लाख ३६ हजार रुपियाँ बराबरको रकम कारोबार भएको छ ।
२०७९ बैशाख महिना मै बजार ओरालो लागेर १२१.३९ अंकले घट्न सुरु गरेको नेप्से जेष्ठ महिनामा पनि ३५४.१७ अंकले घट्यो । लगानीकर्ता उक्त समय पर्ख र हेर भन्ने अवस्थामा रहे। तर, त्यो बजारले निरन्तरता भने दिएन आर्थिक बर्ष सकिदै जादा असारमा नेप्से फेरि सामान्य अंक १०.४१ अंकले बढ्यो। त्यतिबेला नयाँ आवमा बजार फस्टाउने लगानीकर्ताको अपेक्षा थियो ।
त्यो आशा आव २०७९/८० सुरु हुँदा साउनमा ३०.१४ अंकले बढेर बजार उकालो लागेको थियो । जुनबेला बजेट घोषणाको महिनापनि भयो । पुँजी बजारलाई उकास्न विभिन्न संघका लगानीकर्ताको हरप्रयास रह्यो । तर, पनि भदौ र असोजमा बजारले गति लिएन् ।
यस्तै उत्तरचढाब हुदै आवको पुसमा भने बजारले लय लिएको थियो । त्यतिबेला २६५.७४ अंकले बढेर बजारमा रौनक छाएको थियो । त्यस पश्चात भने बजार निरन्तर ओरालो लाग्यो । नेप्सेको तथ्याङ्क अनुसार समग्र बर्ष २०७९लाई हेर्दा ८ महिना नेप्से परिसूचकमा पहिरो गएको थियो भने बाकी ४ महिना बढेर सामान्य उकालो लागेको देखिन्छ ।
२०७९ सालको सुरु देखि अन्त्यसम्मै राम्रो नरहेको पुँजी बजार विश्लेषक मुक्ति अर्याल बताउछन् । पुँजी बजारमा अर्थतन्त्र र मौद्रिक नितीले निकै माने राख्ने उनको भनाई छ । जसमा धेरै मौद्रिक नितीले असर गर्यो । राष्ट्र बैंकको पोलिसी बजार मैत्री भएन् । जसले गर्दा पुँजी बजार र अर्थतन्त्र नै अप्ठेरो अवस्थामा पर्यो ।
यस बर्ष लगानीकर्ता आत्तिने, गुमाउने कारणले मनस्थिती नै नकारात्मकता तिर गएको अर्यालको बुझाइ छ । आगामी बर्षमा राम्रो हुने अपेक्षा गरौ । आगामी बर्ष राष्ट्र बैंकको नरम पोलिसी आए बजार सकारात्मक लयमा जाने विश्वास रहेको उनको भनाई छ ।
गभर्नर र अर्थमन्त्रीको जुहारी
निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच खटपटका कारण पनि यो वर्ष सेयर बजारका लागानीकर्ता चपेटामा परेको सरोकारवलाहरुको भनाई छ । उनीहरुबीच आपसमा समन्वय हुन नसक्दा नीतिगत सुधार हुन सकेन ।
के के भए काम ?
— पुँजी बजारमा नेपाल मै पहिलोपटक केन्द्रिकृत डिजिटल केवाइसी सुरु भयो । ग्राहक तथा लगानीकर्ताले कुनै एक निकायमा एक पटक व्यक्तिगत विवरण बुझाएपछि पुँजीबजारका अन्य निकायमा पुन उक्त विवरण बुझाउनु नपर्ने गरी बिद्युतीय ग्राहक पहिचान विवरण लागु भयो ।
— साना तथा मझ्यौला कम्पनीहरुलाई नेप्सेले एसएमई इन्डेक्स प्लेटफर्म लागु गर्यो ।
— धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीहरुको लागि लगानी खुल्ला गर्ने । साथै, बैदेशिक रोजगारीमा रहेकालाई आइपीओमा छुट्टै कोटा उपलब्ध गराउने ।
— पुँजीबजारको समस्या समाधान गर्न चार सदस्यीय सुझाव समिती गठन् ।
— ४र१२ को नितिमा परिर्वतन, पहिलेका बर्षमा एक संस्थाबाट ४ करोड र फरक वित्त संस्थामार्फत गरी कुल १२ करोड सम्मको सेयर धितो कर्जा लिन पाईने व्यवस्था थियो । २०७९ देखि ४ करोडको सिमा हटाईएको छ । अब सेयर धितोमार्फत १२ करोडको कर्जा लिन पाईने व्यवस्था भएको छ ।
— ब्रोकर लाइसेन्समा कोटा प्रणाली खारेज, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली२०६४ पारित । नयाँ लाइसेन्स दिने बाटो खुल्ला ।
— मर्जरमा जादा कम्पनीको कारोबार रोक्का नहुने निर्देशिका लागु (बढीमा १५ दिन भन्दा रोक्का गर्न नपाइने) ।
— सि आस्वा शुल्कमा १५ प्रतिशत घटाईएको छ । अब उक्त शुल्क ५ रुपैयामा मात्रै लिन पाईने ।
सकारात्मक स्वागतको अपेक्षा
यो वर्षको अन्त्यमा आर्थिक सूचकहरु सवल बन्दै गएको केन्द्रीय बैंकको पछिल्ला तथ्यांकले देखाएको छ । २०८० को सुरुवातदेखि लागू हुने गरी बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर पनि घटाएका छन् । यसको सकारात्मक प्रभाव पुँजी बजारमा पर्ने अपेक्षा लगानीकर्ताले गरेका छन् । तरलताको सहजता एवं लगानी मैत्री वातावरण बन्ने अपेक्षामा लगानीकर्ता यति बेला पर्ख र हेरको अवस्थामा पुगेका छन ।
विस्तारै बजारमा बजारलाई सकारात्मक हुने किसिमका गतिविधिहरु हुन सुरु भएका छन् । बढेर उच्च विन्दुमा पुगेको बैंकको ब्याजदर घटेर एकल अंकमा झरेको छ । बैंकको ब्याजदर घटेपछि बजारमा प्रवेश गर्ने लगानीकर्ताको संख्या बढ्ने छ र र बजारमा पूँजी भित्रने वातावरण बन्ने विश्वास गरिएको छ ।
बैंक तथा वित्तीय संस्थामा क्रमशः तरलताको संकट कम हुदै गरेको छ। देशको आर्थिक अवस्था संकटग्रस्त हुने दिशामा पुगेको भन्ने आशंकाबीच नेपालको शेयर बजारले २०८० लाई सकारात्मकरूपमा स्वागत गर्ने धेरैको अपेक्षा छ ।
Comment