प्रशासकीय अधिकृतविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

प्रशासकीय अधिकृतविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा



काठमाडौं । ईशनाथ नगरपालिका रौतहटका तत्कालीन नि.प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी सेवामा रहँदा पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा उनीविरुद्ध १ करोड ४९ लाख ९७ हजार ८६४ रुपैयाँ बिगो दाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

गुप्ताले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरी अख्तियारमा परेपछि अनुसन्धान हुँदा सार्वजनिक सेवा प्रवेश गरेको मिति २०५१ वैशाख २९ गतेदेखि उनले आयोगमा सम्पत्ति विवरण पेश गरेको मिति २०७९ जेठ २५ गतेसम्मको अवधिको सम्पत्ति छानबिन गर्दा १ करोड ४९ लाख ९७ हजार ८६४ रुपैयाँको स्रोत नखुलेको अख्तियारले जनाएको छ ।

यसैगरी निज गुप्ताले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी गैरकानूनी रूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति श्रीमती उषा गुप्ताको नाममा जग्गा खरिद तथा घर निर्माण लगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्य बराबरको सम्पत्ति बिगो र त्यसबाट बढेरबढाएको सम्पत्ति जफत गर्नका लागि उषा गुप्तालाई समेत प्रतिवादी कायम गरी उनको नाममा हाल कायम रहेको सम्पत्तिमध्येबाट बिगो जफत गरी पाउन मागदावी लिएको छ।

पछिल्लो पटक २०७७ वैशाख २९ मा परेको उजुरीको प्रारम्भिक अनुसन्धान गर्दा सम्पत्तिको तालमल नदेखिएपछि अख्तियारले विस्तृत अनुसन्धान गरेको थियो ।

२०५१ वैशाख २९ मा शिक्षा सेवातर्फ प्राविधिक सहायक पदबाट सरकारी सेवा प्रवेश गरेका गुप्ताविरुद्ध अख्तियारले २०७९ जेठ २५ सम्म आर्जन गरेको सम्पत्तिबारे अनुसन्धान गरेको थियो ।

गुप्ताविरुद्ध अख्तियारले १ करोड ४९ लाख ९७ हजार ८६४ रुपैयाँ बिगो, त्यति नै जरिवाना, २ वर्ष कैद सजायँ र स्रोत नखुलेको रकमबाट बढे/बढाइएको चल अचल सम्पत्ति जफतको मागदाबीसहित आइतबार मुद्दा दायर गरेको हो ।

प्रकाशित : २७ चैत्र २०७९, सोमबार १३:१४