जाँचबुझ आयोग गठन लगतै मिटरब्याज पीडितको आन्दोलन फिर्ता, अर्को समुहको आन्दोलन भने जारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

जाँचबुझ आयोग गठन लगतै मिटरब्याज पीडितको आन्दोलन फिर्ता, अर्को समुहको आन्दोलन भने जारी



काठमाडौं । सरकारले आयोग गठन गरे लगतै मिटरब्याज पीडितले १९ दिनदेखि गर्दै आएको आन्दोलन फिर्ता भएको छ । मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकारले बिशेष अदालतको पूर्व अध्यक्ष गौरीबहादुर प्रधानको संयोजकत्वमा जाँचवुझ आयोग गठन गरेको हो ।

आयोगमा नेपाल प्रहरीका पूर्व एआईजी उत्तम सुवेदी र महान्यायधिवक्ता कार्यालयका पूर्व नायव महान्यायधिवक्ता गणेशबहादुर आर्याल सहभागि छन् । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको थियो ।

मिटरब्याज विरुद्ध संघर्ष समितिले उच्चस्तरीय आयोग गठनको माग गर्दै गत २ चैतदेखि आन्दोलन गर्दै आएका थिए । यहीक्रममा उनीहरु महोत्तरीको बर्दिबासदेखि १२ दिन पैदल हिँडेर काठमाडौं आइपुगेका थिए । काठमाडौंमा चरणबद्ध आन्दोलन गर्न थालेपछि सरकारले उनीहरुसँग बार्ता गर्न टोली गठन गरेको थियो । सोही टोलीले शनिबार उनीहरुसँग पाँच बुँदे सहमति गरेको थियो । सहमतिमा पीडितको समस्या सम्बाेधन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्ने र आयोग गठन लगतै विरोेधका सबै कार्यक्रम फिर्ता लिने लगायतका बुँदा समेटिएका थिए । सोही सहमति अनुसार संघर्ष समितिले आन्दोलन फिर्ता लिएको हो ।

उत्ता, मिटरब्याज पीडितको अर्को समुह मिटरब्याज तथा ठगि बिरद्ध किसान–मजदुर संघर्ष समितिले भने सोमबारबाट आन्दोलन सुरु गरेको छ । उनीहरुले आन्दोलनका कार्यक्रमको सम्बन्धमा मंगलबार दिउँसो पत्रकार सम्मेलन नै राखेका छन् । रत्पार्कस्थित शान्ति बाटिकामा रहेका उनीहरुले सोमबार दिनभर माइतीघर मण्डालामा बिरोध प्रदर्शन गरेका थिए ।

प्रकाशित : २१ चैत्र २०७९, मंगलवार १०:४४