सुपर मादी हाइड्रोपावरको आइपीओ आजदेखि बिक्री खुल्ला, कहिलेसम्म आवेदन दिन सकिने ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सुपर मादी हाइड्रोपावरको आइपीओ आजदेखि बिक्री खुल्ला, कहिलेसम्म आवेदन दिन सकिने ?



काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले माघ ९ गते (साेमबार)देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

एक लाख ७४ हजार ३०० जनाले पाउने आईपीओको आजदेखि बिक्री खुला भएको छ । कम्पनीले जारी पुँजी २ अर्ब १० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने २१ करोड रुपैयाँ बराबरको कुल २१ लाख कित्तामध्ये १० प्रतिशतले हुन आउने २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरिसकेको छ ।

त्यसमध्ये ५ प्रतिशतले हुन आउने १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ४२ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ ।

सर्वसाधारणले १७ लाख ४३ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको आईपीओ १ लाख ७४ हजार ३०० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले पाउनेछन् ।

यसमा माघ १२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै शेयर बिक्री नभएमा माघ २३ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत भर्न सकिनेछ ।

प्रकाशित : ९ माघ २०७९, सोमबार ११:५३