ब्याजदर घटाउने निर्णय सकारात्मकः उद्योग परिसंघ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

ब्याजदर घटाउने निर्णय सकारात्मकः उद्योग परिसंघ



काठमाडौं । नेपाल उद्योग परिसंघले ब्याजदर घटाउने बैंकर्स संघको निर्णय सकारात्मक भएको बताएको छ । परिसंघले बिहीबार एक विज्ञप्ति जारी गर्दै निक्षेपको ब्याजदर घटाउने सहमती सकारात्मक अर्थतन्त्रमा लगानीयोग्य पुँजीको अभाव, निष्क्रिय कर्जामा भइरहेको तीव्र वृद्धि, उच्च ब्याजदरलगायतका कारणले निजी क्षेत्रको मनोबल खस्किएको बेलामा निक्षेपको ब्याजदर घटाउने नेपाल बैंकर्स एसोसिएसनको निर्णय सकारात्म भएको धारणा राखेको हो ।

मागमा आएको संकुचन, उच्च ब्याजदरका कारण लगानी महँगो हुँदा नयाँ लगानीका योजना स्थगन भइरहेको बताउँदै यो निर्णयल निजी क्षेत्रको खस्किएको मनोबल उकास्न र अर्थतन्त्रलाई गति प्रदान गर्न सहयोग पुग्ने बताएको छ । यो निर्णय चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनः लयमा फर्काउन सहयोगी हुने परिसंघको विश्वास छ ।

‘निक्षेपको ब्याजदर घटेसँगै लागत घट्ने छ, यसले आधार दर र कर्जाको ब्याजदर पनि घटाउने हाम्रो बुझाई छ, कर्जाको ब्याजदर घट्दा उद्योग व्यवसायमा लगानी विस्तार हुने र उद्योगी व्यवसायीहरुको खस्किएको मनोबल उकास्न सहयोगी हुने हाम्रो विश्वास छ,’ विज्ञप्तिमा भनिएको छ ।

उद्योग परिसंघले हालै गरेको एक सर्वेक्षणमा करिब ७० प्रतिशत व्यवसायीले लगानी विस्तारको योजना स्थगन गरेको बताएको छ । ब्याजदर घटेपछि लगानीकर्ताले आफ्नो लगानी विस्तारको योजनालाई फेरी अगाडि बढाउने र समग्र मागमा बृद्धि आउँने हुँदा अर्थतन्त्र चलायमान हुन जाने परिसंघको विश्वास छ ।

नेपाल राष्ट्र बैंकले गत साता मात्रै चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ मा लचकता देखाउँदै गरेको संशोधनले निजी क्षेत्रको खस्केको मनोबल उकास्न केही मात्रामा भए पनि सकारात्मक सञ्चार प्रवाह गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत थप तरलता प्रवाह बढाउने, उद्योग क्षेत्रमा जाने कर्जामा आधार दरमा २ प्रतिशतभन्दा अधिक प्रिमियम जोड्न नपाउने गरी नीतिगत सुधार गर्न नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ ।

प्रकाशित : २८ पुष २०७९, बिहीबार १९:३२