राजस्व चुहावटको आरोपमा ७८ कराेडकाे माग दाबी सहित दुई जनाविरुद्ध मुद्धा दायर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

राजस्व चुहावटको आरोपमा ७८ कराेडकाे माग दाबी सहित दुई जनाविरुद्ध मुद्धा दायर



काठमाडौं । मंगलबार राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले ललितपुर महानगरापालिका वडा नं.११ कुम्भेश्वर स्थायी बसोबास भएका त्रिशत्ति ट्रेडर्सका प्रोपाइटर सिद्धि बहादुर महर्जन र रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ३ स्थायी ठेगाना भएका सुमित एण्ड स्वयता ट्रेडर्सका प्रोपाइटर पूनित बानियाँविरुद्ध मुद्दा दायर गरिएको हो ।

महर्जनले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर बिजक खरिद गरी वित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गरी प्रचलित आयकर नतिरी राजस्व चुहावट गरेको विभागको आरोप रहेको छ ।

उनीविरुद्ध १२ करोड ३५ लाख ८५ हजार १५८ रुपैयाँ सजायको माग दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

त्यस्तै, बानियाँले आफ्नो नाममा दर्ता भएको फर्मको आय विवरण र सो बमोजिमको कर योग्य आयमा लाग्ने कर रकम समेत सम्बन्धीत आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नु पर्नेमा सो बमोजिम नगरी अवैध तवरले कारोबार गर्ने गरेको पाइएको छ ।

उक्त फर्मले बुझाउनु पर्ने राजस्व नबुझाइ अर्को फर्मबाट समेत कारोबार गरेको देखिएको विभागको भनाई छ । उनीविरुद्ध ६६ करोड ७ लाख एक हजार ७९२ रुपैयाँ सजायको माग दाबीसहित उच्च अदालत तुल्सिपुरमा मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ ।

प्रकाशित : २० पुष २०७९, बुधबार १३:४१