मोलुङ्ग हाइड्रोपावर कम्पनीले पुस १९ गतेदेखि आइपीओ ल्याउदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मोलुङ्ग हाइड्रोपावर कम्पनीले पुस १९ गतेदेखि आइपीओ ल्याउदै



काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले पुस १९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दा तथा बैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

हाइड्रोपवारले ८ करोड २ लाख ५० हजार रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख २ हजार ५ सय कित्ता शेयर निष्कासन गर्ने भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने २ लाख ७२ हजार ८५० कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ३६ हजार ४२५ कित्ता तथा कर्मचारीका लागि ५४ हजार ५७० कित्ता सेयर पनि निष्काशन गर्न लागेको हो ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरिने शेयरमध्ये ५ प्रतिशत ओखलढुङ्गा जिल्लाको मोलुङ्ग गाउँपालिकाका बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने, बाँकी ५ प्रतिशत सुनकोशी गाउँपालिकाका बासिन्दा र सिद्धिचरण नगरपालिकाका बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ८ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा माघ ३ गतेसम्म आवेदन दिन सकिनेछ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरिएको शेयरमा सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि माघ १८ गतेसम्म लम्बिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सनराइज बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, कुमारी बैंक तथा लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछ। त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारमा रहेको नेपालीहरुले आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

प्रकाशित : ८ पुष २०७९, शुक्रबार १२:५७