पोलिसी सरेन्डर गर्नेको संख्या बढ्यो, कार्तिकमा एक अर्ब ११ करोड रुपैयाँको पोलिसी सरेण्डर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

बिशेष

पोलिसी सरेन्डर गर्नेको संख्या बढ्यो, कार्तिकमा एक अर्ब ११ करोड रुपैयाँको पोलिसी सरेण्डर



काठमाडौं । चालु आर्थिक वर्षको कार्तिक महिनामा बीमा पोलिसी सरेण्डर गर्नेहरुको संख्या बढेको छ । बीमा प्राधिकरणका अनुसार गत असोज महिनाको तुलनामा कार्तिकमा पोलिसी त्याग्नेको संख्या ११.२६ प्रतिशतले बढेको हो ।

असोजको तुलनामा कार्तिक महिनामा पोलिसी सरेण्डर गर्नेको संख्यासंगै रकम पनि बढेको छ । प्राधिकरणका अनुसार कार्तिकमा १९ जीवन बीमा कम्पनीका बीमितहरुले ६ हजार ७४६ वटा पोलिसी त्याग गरेका छन् । गत असोज महिनामा बीमितहरुले ६ हजार ६३ वटा पोलिसी त्याग गरेका थिए ।

बीमा पोलिसी त्याग्नेकाे संख्या बढेसँगै पोलिसी समर्पण रकम पनि ४४.८१ प्रतिशतले घटेको छ । कार्तिकमा कुल एक अर्ब ११ करोड ९७ लाख ४६ हजार रुपैंया बराबरको पोलिसी सरेण्डर भएको छ । असोजमा ७७ करोड ३२ लाख २८ हजार रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको थियो ।

सबैभन्दा धेरै पोलिसी सरेण्डर गर्ने नेपाल लाइफ इन्स्योरेन्सका बीमितहरु रहेका छन् भने, कम पोलिसी सरेण्डर गर्ने यूनियन लाइफ इन्स्योरेन्सको रहेका छन् । नेपाल लाइफ इन्स्योरेन्सको कार्तिक महिनामा कुल सरेण्डर भएको बीमा पोलिसी मध्ये २ हजार १३९ वटा बीमालेख वापत २८ करोड ८४ लाख ५ हजार रुपैयाँको पोलीसी सरेण्डर भएको छ ।

त्यस्तै, नेपाल लाइफपछि एशियन लाइफ इन्स्योरेन्सको धेरै बीमालेख सरेण्डर भएको छ । यसको ११ करोड ६५ लाख ५९ हजार रुपैयाँ बराबरको १ हजार ५३८ वटा बीमालेख सरेण्डर भएका छन् ।

साथै, बीमितहरुले नेशनल लाइफको ६६२ वटा, लाइफ इन्स्योरेन्स कर्पाेरेशनको ९८७ वटा, राष्ट्रिय बीमा संस्थानको ३०६ वटा, मेट लाइफको ३१३ वटा, सूर्या लाइफको १४५ वटा र गुराँस लाइफको १९५ बीमालेख त्याग गरेका छन् । बाँकी कुनै पनि कम्पनीको पोलिसी सरेण्डर संख्या १०० माथि रहेका छैनन् ।

सबै भन्दा कम पोलिसी सरेण्डर हुनेमा यूनियन लाइफ इन्स्योरेन्स रहेको छ । यस अवधिमा यूनियन लाइफको ४६ लाख ३१ हजार रुपैयाँ बराबरको १७ वटा बीमालेख सरेण्डर भएको छ ।

प्रकाशित : २५ मंसिर २०७९, आईतवार १६:५५