एसियन हाइड्रोपावरले मंसिर २७ गतेदेखि आइपीओ निष्काशन गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

एसियन हाइड्रोपावरले मंसिर २७ गतेदेखि आइपीओ निष्काशन गर्दै



काठमाडौं । एसियन हाइड्रोपावरले मंसिर २७ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ निष्काशन गर्ने भएको हो।

कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको ३ लाख ४० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीयका लागि र ८४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि विक्री गर्न लागेको हो ।

यसमा आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं १०, माई जोगमाई गाउँपालिका वडा नं ३ र ४ तथा सूर्योदय नगरपालिका वडा ११ का स्थानीय बासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात १ लाख ३६ हजार कित्ता र आयोजना अति प्रभावित क्षेत्र बाहेकको ईलाम जिल्लाका अन्य क्षेत्रहरुमा बसोबास गर्ने बासिन्दाहरुका लागि बाँकी ६० प्रतिशत अर्थात २ लाख ४ हजार कित्ता सेयर छुट्याइएको छ ।

त्यस्तै, सर्वसाधारणमा निष्काशन हुने ८ लाख ४० हजार कित्तामध्ये १० प्रतिशत अर्थात ८४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई छुट्याइएको छ ।

स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यसमा पुस १२ गतेसम्म आवेदन दिन सकिनेछ । यद्दपि, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा पुस २७ गतेसम्म आवेदन दिन पाउनेछन् ।

तर वैदेशिक रोजगारीमा रहेका नेपालीले भने पुस १२ गतेसम्म आवेदन दिनुपर्नेछ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले एसियनलाई केयर एनपी डबल बी रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

स्थानीय बासिन्दाले एनएमबि बैंक ईलाम शाखा, सिभिल बैंक माईजोगमाई शाखा ,प्राइम कमर्सियल बैंक बिब्लाटे शाखा, ग्लोबल आइएमई बैंक सूर्योदय ९फिक्कल० शाखा तथा बिक्री प्रबन्धले तोकेको बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । यता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित : १८ मंसिर २०७९, आईतवार १३:०६